असोज ७ गते । काठमाडौँ । नेपालका विभिन्न भू–भागमा भारी देखि अति भारी वर्षा, हिमपात र चट्याङको जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञहरूको पूर्वानुमानलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बिदा दिनुका साथै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको हो। मन्त्रालयद्वारा जारी सार्वजनिक सूचना अनुसार असोज ९, १० र ११ गते देशभरका अधिकांश स्थानमा भारी देखि अति भारी वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको भन्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राखी असोज ८ र ९ गते स्थानीय तहहरूसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालयहरू बिदा गर्न निर्देशन दिइएको हो । सबै विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायहरूलाई असोज ९ गतेदेखि ११ गतेसम्मका तोकिएका परीक्षाहरू आवश्यकता अनुसार स्थगित गर्न भनिएको छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रका सुरक्षित विद्यालय भवनहरूलाई आपतकालीन अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिइएको छ। विपद्को जोखिम बढेकाले आफ्ना बालबालिकाहरूलाई नदी, खोला, पोखरी तथा जोखिमयुक्त स्थानहरूमा जान नदिन भिभावकहरूलाई विशेष आग्रह गरिएको छ। विपद्को सम्भावित जोखिमबाट बच्न र क्षति न्यूनीकरण गर्न सम्पूर्ण नागरिक, स्थानीय तह र सरोकारवाला निकायहरूलाई आवश्यक पूर्वतयारीका साथ सतर्क रहन मन्त्रालयले अपिल गरेको छ।









