गैँडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैँडाकोटको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। गैँडाकोट ९ स्थित वातावरणमैत्री बाल उद्यान क्षेत्रको परिसरमा बुधबार आयोजित साधारणसभामा समूहले गरेका गतिविधि, आगामी योजना तथा वन संरक्षणका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु अधिकारीले सामुदायिक वनले वन संरक्षण, वातावरण संरक्षण तथा उपभोक्ताको हितमा गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले संरक्षणका गतिविधि अघि बढाउन आग्रह गर्नुभयो।
त्यस्तै सब–डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सन्तोष मिश्रले वनले वन संरक्षण तथा व्यवस्थापनका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै जिल्लाकै उत्कृष्ट सामुदायिक वनका रूपमा प्राप्त गरेको सम्मानलाई आगामी दिनमा अझ राम्रो काम गर्ने प्रेरणाका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले वन डढेलो नियन्त्रण, वृक्षरोपण, वातावरण संरक्षण तथा उपभोक्तामैत्री कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटाले सामुदायिक वनले वन संरक्षणसँगै उपभोक्ताको हित र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो। जिल्लाको उत्कृष्ट सामुदायिक वन तथा गणेशमान सिंह चौथो पुरस्कार प्राप्त हुनु समूहको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै प्रथम पुरस्कार प्राप्त गर्ने लक्ष्यसहित अघि बढ्ने बताउनुभयो।
कार्यक्रममा गैँडाकोट वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, सुन्दरी सामुदायिक वनका अध्यक्ष बुद्धिराम गिरी, नन्दन सामुदायिक वनका अध्यक्ष हरिमाया अधिकारी तथा अभिनन्दित व्यक्तित्व देवीप्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो।
उपभोक्ताको तर्फबाट उपभोक्ता सदस्य जीवनाथ कँडेल र कमला ढकालले वन समूहले गर्दै आएका कामको प्रशंसा गर्दै आगामी दिनमा उपभोक्तालाई लक्षित गरी विभिन्न सीपमूलक तथा आय आर्जनमूलक तालिम सञ्चालन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नारायणी सामुदायिक वनले जिल्लास्तरमा उत्कृष्ट सामुदायिक वनको सम्मान तथा गणेशमान सिंह चौथो पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट काम गर्दै प्रथम पुरस्कार प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्न शुभकामना दिएका थिए। वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक विकासमा समेत सामुदायिक वनले थप कार्यक्रम ल्याउनुपर्ने वक्ताहरूको सुझाव थियो।

साधारणसभामा समूहकी सचिव सीता गिरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विमला मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसैगरी लेखा समिति संयोजक लक्ष्मी चौधरीले लेखा समितिको प्रतिवेदन तथा अनुगमन समिति संयोजक मोतिलाल ढुङ्गानाले अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा उपाध्यक्ष धनपति सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समूहकी सचिव सीता गिरीले गर्नुभएको थियो।

साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा कार्यालय सचिव हरिप्रसाद सापकोटालाई सम्मान गरिएको थियो। समितिको तर्फबाट देवीकला कँडेल सापकोटालाई पनि सम्मान गरिएको थियो। त्यस्तै दुई जना व्यक्तित्वलाई अभिनन्दन गरिएको कार्यक्रममा वन डढेलो नियन्त्रणमा सहयोग गर्ने अग्नि दस्ता लाई समेत सम्मान गरिएको थियो।










