पोखरा , असोज ७ । फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेको छ । दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । एक सय १३ यात्रु लिएर आएको जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । पोखरामा पहिलो पटक चिनको एक विमानले उडान भरेपनि दुवई ले भने पहिलो पटक जहाज पोखरामा अवतरण गराएको हो । पोखरामा अवतरण भएसँगै यात्रुहरु उत्साहित भएका थिए भने यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी र पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थलमा उपस्थित भएका थिए । नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर दुबईका लागि उडेको विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिनुभयो ।









