गैँडाकोट । सफा, सुन्दर तथा हरियाली टोल निर्माण गर्ने उद्देश्यका साथ कालिका टोल विकास संस्था गैंडाकोट ८ ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाले आइतबार बिहान कालिका नमुना माध्यमिक विद्यालयको पश्चिमपट्टिको क्षेत्रमा सरसफाई गरेको हो। टोललाई स्वच्छ, सफा र व्यवस्थित राख्ने उद्देश्यले टोल विकास संस्थाका सदस्यहरू पालैपालो उपस्थित भएर सरसफाईमा सहभागी भएका थिए।
कालिका टोल विकास संस्थाका अध्यक्ष प्रेम आचार्यले सफा, सुन्दर र हरियाली टोल निर्माण गर्ने उद्देश्यले नियमित रूपमा सरसफाई गतिविधिलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँका अनुसार हाल टोल विकास संस्थामा ९६ घरधुरी आबद्ध रहेका छन्।
सरसफाई कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ८ का वडा सदस्य खगेश्वर सापकोटा, विनायक कृषि सहकारीका अध्यक्ष तिलक कडेल, टोल विकास संस्थाका सदस्य लगायत टोलबासीको उपस्थिति रहेको थियो।
टोलका सदस्यहरूले आफ्नो टोललाई सफा, स्वच्छ र सुन्दर राख्नु सबैको साझा जिम्मेवारी भएकाले नियमित रूपमा सरसफाईमा जुट्ने बताएका छन्। उनीहरूले टोलको वातावरण स्वच्छ राख्न स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।








