असोज ३, गैंडाकोट। जनक नमुना माध्यमिक विद्यालयको अंग्रेजी क्लबको आयोजनामा नारायणी नदीमा रहेको क्रुजभित्र चियासँग कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा पठन संस्कृति तथा अन्तर्निहित प्रतिभाको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक हिमालदेब पंगेनीले जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरेको प्रमुख आतिथ्यता एवं प्रधानाध्यापक बुद्धिसागर पण्डितको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा तीन दर्जनभन्दा बढी विद्यार्थीहरूले अंग्रेजी भाषामा कविता वाचन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरेले नारायणीमा रहेको क्रुजजस्तो नयाँ स्थानमा आयोजित कार्यक्रमले बेग्लै अनुभूति गराएको बताउनुभयो। यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउनुका साथै विद्यालयको शैक्षिक स्तर र साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। त्यसैगरी, विशिष्ट अतिथि एवं शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद शर्माले नयाँ स्थानमा आयोजित यस कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो। विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले पठन संस्कृतिको विकासका लागि कार्यक्रम आयोजना गरिएको र विद्यार्थीहरूको उत्साहजनक सहभागिताले थप हौसला मिलेको भन्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रम निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक हिमालदेव पंगेनीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम आयोजनाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। साहित्यकारहरू लेखराम आचार्य, उपेन्द्र त्रिपाठी, उदय अधिकारी लगायतका अतिथिहरूको उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थीका साथै अंग्रेजी अध्यापन गराउने शिक्षकहरूले समेत आफ्ना कविता वाचन गर्नुभएको थियो। अभिभावक, शिक्षक तथा विद्यार्थी गरी ६० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण अंग्रेजी विभाग प्रमुख मनोज विक्रम बिष्टले गर्नुभएको थियो। कार्यक्रममा शिक्षकहरू नरेन्द्र कमाल, मुकुन्द न्यौपाने, मोनिका कंडेल, पुष्पा पाठक, भक्त केसी, रमा वगाले लगायतका शिक्षकहरूको उपस्थिति रहेको थियो। सोही कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरूका र शिक्षकहरूले वाचन गरेका अंग्रेजी कविताका बारेमा साहित्यकार उदय अधिकारीले टिप्पणी गर्नुभएको थियो। त्यसै गरी साहित्यकार उपेन्द्र त्रिपाठीले समेत आफ्नो कविता नेपाली र अंग्रेजी दुवै भाषामा वाचन गर्नुभएको थियो भने वरिष्ठ साहित्यकार तथा गजल मञ्च चितवनका पूर्व अध्यक्ष लेखराम सापकोटाले समेत गजल प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमलाई नौलो तरिकाले सञ्चालन गर्ने उद्येश्यका साथ नारायणी नदिमा रहेको क्रुजमा सयर गरेर विद्यार्थीहरुले कविता बाचन गरेका थिए । विद्यालयका शिक्षक भक्त के.सी.ले धन्यावद ज्ञापन गर्नुभएको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले चिया पीएर गर्नुभएको थियो ।








