काठमाण्डौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेशियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ ।
बांगीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेशियालाई ६ विकेटले हरायो । मलेशियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१ ओभर चार बलमा चार विकेट गुमाएर भेटायो ।
नेपालका अर्जुन कुमालले नटआउट ४५, ईशान पाण्डेले २० रन बनाए । मलेशियाका सैयद अजिज, आरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त मधुकरले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मलेशियाले ३२ ओभर ३ बलमा १०३ रन बनाउँदा सबै विकेट गुमायो ।
मलेशियाका कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४ रन बनाए । नेपालका करण केसीले चार, ललित राजवंशीले दुई तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए ।
यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो ।








