गैँडाकोट । श्री देउराली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट–३, ढोडेनीले आफ्नो २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
मंगलबार ढोडेनी बहुउद्देश्यीय सभाहलमा सम्पन्न साधारण सभामा उत्कृष्ट उपभोक्ता सदस्य चार जना तथा संस्थापक दुई जनालाई सम्मान गरिएको थियो।
कार्यक्रममा डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले सामुदायिक वनको संरक्षणसँगै वनबाट उपभोक्ताले प्राप्त गर्ने लाभलाई व्यवस्थित र दिगो बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले वन संरक्षणमा उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै वनको संरक्षण, संवर्द्धन र सदुपयोगलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो।
गैँडाकोट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण र विकासमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले सामुदायिक वनले वन संरक्षणसँगै स्थानीयको आयआर्जन र जीविकोपार्जनमा समेत योगदान पुर्याउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका उपाध्यक्ष कमल बाँचेले सामुदायिक वनले वातावरण संरक्षणसँगै सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले उपभोक्ताको हितलाई केन्द्रमा राखेर पारदर्शी र प्रभावकारी ढंगले वन व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।

नन्दन सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष हरिमाया अधिकारीले सामुदायिक वनको संरक्षणमा उपभोक्ताको एकता र सहकार्य आवश्यक रहेको बताउँदै वनबाट प्राप्त हुने लाभ समुदायका सबै वर्गसम्म पुर्याउनुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, कालीगण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनाथ तिवारीले वन संरक्षण र वातावरणीय सन्तुलनका विषयमा नयाँ पुस्तालाई सचेत गराउनुपर्ने बताउनुभयो। उहाँले विद्यालय र सामुदायिक वनबीच सहकार्य बढाउँदै विद्यार्थीलाई वातावरण संरक्षणप्रति जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरबहादुर मुक्मी मगरले संस्थाले २५ वर्षको अवधिमा वन संरक्षण, विकास तथा उपभोक्ताको हितका लागि विभिन्न कार्य गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा सामुदायिक वनलाई थप व्यवस्थित बनाउँदै उपभोक्ताको आवश्यकता र अपेक्षाअनुसार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारण सभामा समूहको प्रगति प्रतिवेदन सचिव कल्पना गुरुङले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णबहादुर विकले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी आन्तरिक लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक ठाकुरप्रसाद रिमालले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा समूहकी उपाध्यक्ष सुमित्र मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समाजसेवी युवा व्यक्तित्व शम्भु तिवारीले गर्नुभएको थियो।
साधारण सभामा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, उपभोक्ता सदस्य, कार्यसमिति सदस्य, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो।









