साउन १४,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा कफ्र्यु जारी गरेको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज विहिबार साँझ ५ देखि भोलि शुक्रबार बिहान ६ बजेसम्म लागि निषेधाज्ञा लागू रहने जनाईएको छ । प्रशासनका अनुसार वीरगंज महानगरपालिकाको दिइएको चार किल्ला भित्र पाँच जना भन्दा बढी मानिसहरु जम्मारभेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
उक्त आदेशको उद्देश्य शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम दिईएको भन्दै आदेशको पूर्ण पालना गर्न सर्वसाधारणलाई अपिल समेत गरिएको छ । प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ । पछिल्लो समय सुनसरीको दंगा अन्य जिल्लामा पनि फैलिएपछि शान्ति सुरक्षा कायम गर्न भन्दै निषेधाज्ञा जारी गर्ने क्रम सुरु भएको छ ।







