गैँडाकोट । गैँडाकोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका सबै लाभग्राहीलाई परिचयपत्र सूचीकरण तथा नवीकरण गर्न आग्रह गरेको छ ।
नगर कार्यपालिकाको कार्यालयले बिहीबार जारी गरेको सूचना अनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ बमोजिम आर्थिक वर्ष २०८३/०८४ मा समेत सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्न चाहने लाभग्राहीले २०८३ साल असोज मसान्तभित्र अनिवार्य रूपमा परिचयपत्र नवीकरण गरिसक्नुपर्नेछ ।
नगरपालिकाका अनुसार लाभग्राहीले आफू बसोबास गर्ने वडा कार्यालयमा स्वयं उपस्थित भई परिचयपत्र नवीकरण गर्नुपर्नेछ ।
नगरपालिकाले नवीकरणका लागि पूर्ण विवरण भरिएको निवेदन, सामाजिक सुरक्षा भत्ता परिचयपत्र, १६ वर्ष उमेर पुगेकाको हकमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र नम्बर वा सम्बन्धित आवेदन फाराम, विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता तथा पुनः विवाह नभएको प्रमाणित कागजात र अपाङ्गता भएकाको हकमा नगरपालिकाले प्रदान गरेको परिचयपत्र सहितका कागजात पेश गर्न अनुरोध गरेको छ ।





