spot_img

Saturday, April 18, 2026

गण्डकी प्रदेश क्रिकेट संघ र भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी बिच सम्झौतामा हस्ताक्षर

गैंडाकोट । गण्डकी प्रदेश क्रिकेट संघ र भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भिआइटी) बिच सम्झौतामा हस्ताक्षर भएको छ ।  बुधबार गैंडाकोटस्थित होटल इला कम्फर्टमा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय कान्त सिग्देल र भिआइटीका अन्तराष्ट्रिय निर्देशक बाबु खनालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका खेलाडीहरुको पनि उपस्थीती रहेको थियो ।

गण्डकी प्रदेशको क्रिकेटको दीर्घकालीन विकास, प्रतिभा पहिचान र संरचनागत सुदृढीकरणका लागि भिआइटीको सहयोग रहने गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ । गण्डकी प्रदेशको महिला र पुरुष दुवै क्रिकेट टोलीको मुख्य प्रायोजकको रुपमा अष्ट्रेलियाको प्रतिष्ठित शैक्षिक संस्था भिआइटीले गर्नेछ ।

भीआइटिसँगको सहकार्यले क्रिकेटको बिकासमा महत्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको विश्वास छ  ।  यस सहकार्यलाई दीर्घकालीन रणनीतिक साझेदारीका रूपमा लिँदै आगामी दिनमा पनि क्रिकेट विकासका थप आयाम पुग्ने अध्यक्ष सिग्देलले बताउनुभयो।

भीआइटीका अन्तराष्ट्रिय निर्देशक बाबु खनालले गण्डकी प्रदेश क्रिकेटलाई अगाडि बढाउनका लागि तथा खेलाडीलाई नै फाईदा पुगोस र राम्रोसँग खेल्ने वातावरण होस् भनेर सहयोग गरेको बताउनुभयो । निर्देशक खनालले खेलाडीलाई खेलमा ध्यान दिएर खेल्न, र आफ्नो लक्ष्य पुरा गर्न आग्रह गर्नुभयो ।

सन् १९९८ देखि सञ्चालनमा रहेको भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भीआइटि) अष्ट्रेलियाको एक स्थापित उच्च शिक्षा प्रदायक संस्था हो । मेलबर्न, सिड्नी, एडिलेड र जिलोंगजस्ता सहरहरूमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको भीआइटिमा नेपालसहित विभिन्न देशका विद्यार्थी अध्ययनरत छन्, जसमा ६०० भन्दा बढी नेपाली विद्यार्थी समावेश छन् ।

कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट टिमका कोच विधान श्रेष्ठ, त्यस्तै क्याप्टेन विपिन खत्री, खेलाडी अर्जुन कुमालले खेलको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य सुदीप शर्मा, जिल्ला क्रिकेट संघ नवलपुरका अध्यक्ष धामनाथ सापकोटा,कोषाध्यक्ष दिवाकर थापा, सचिव विवेक न्यौपाने लगायत कार्यसमिति, समाजसेवी व्यक्तित्व, खेलप्रेमीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गण्डकी प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :