चैत २१ ,गैँडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ६ मा शैक्षिक गुणस्तर वृद्धिका लागि छलफल कार्यक्रम भएको हो।भाग्योदय र सिर्जनशील आधारभूत विद्यालयको संयुक्त आयोजना एवं गैँडाकोट ६ को प्राबिधिक सहयोगमा शनिबार भाग्योदय भाग्योदय आधारभूत विद्यालय परिसरमा सो कार्यक्रम भएको हो।
भाग्योदय र सिर्जनशील आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारलाई वडाबाट निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइने गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष एवं शैक्षिक व्यक्तित्व सुभास चापागाईंले घोषणा गर्नुभएको छ। उहाँले बालबालिकाका लागि पोशाक र स्टेशनरीसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्था, महिला समूह, शिक्षक तथा सरोकारवाला पक्षहरूबीच विद्यालय सुधारका विभिन्न पक्षमा छलफल गरिएको थियो।
शैक्षिक अभियान्ता गोपाल प्रसाद भण्डारीले सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिका खुसी भए मात्र प्रभावकारी रूपमा सिक्न सक्ने भएकाले संवेदनशील व्यवहारसहित खुसी वातावरणमा शिक्षण गर्नुपर्नेमा जोड दिनुभयो। साथै, घर र विद्यालय दुवै ठाउँमा खेल्दै सिक्ने वातावरण सिर्जना गर्नुपर्ने र बालबालिकाले अनुकरणबाट सिक्ने भएकाले अभिभावक तथा शिक्षकले व्यवहारमै राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले बालबालिकालाई अत्याधिक शैक्षिक बोझ नदिन आग्रह गर्दै किताबको भारीभन्दा संस्कारसहितको व्यवहारिक र खेलमुखी शिक्षाको आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा वडा नम्बर ६ का जनप्रतिनिधिहरू चन्द्रबहादुर विश्वकर्मा, पवित्रा अधिकारी, कल्पना परियार र रणबहादुर दराईलगायतले विद्यालयको गुणस्तर सुधारका लागि आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यसैगरी विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरी सापकोटा, सिर्जनशील आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष आत्मराम पौडेल, शिवनगर टोल विकास संस्थाका अध्यक्ष किशन गुरुङ, अभिभावक संघका अध्यक्ष हिमलाल सापकोटा, वडाका राजनितिक दलका प्रतिनिधिहरु प्रकाश भुषाल, महेन्द्र सापकोटा, भुमिस्वर घमाल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम दुई सत्रमा सञ्चालन गरिएको थियो। पहिलो सत्रमा विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, जनप्रतिनिधि, अभिभावक र शिक्षकहरूको सहभागितामा अन्तरक्रियात्मक छलफल गरिएको थियो भने दोस्रो सत्रमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिबीच केन्द्रित छलफल कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा सहभागी सबै पक्षले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्। भाग्योदय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद सापकोटाले सबैको सहयोग समन्वय र सहकार्यले विद्यालयको शैक्षिक गुणस्तर बढाउन सकिने हुँदा विद्यालय व्यवस्थापन समितिले गर्ने जिम्मेवारी अन्य निकायसँग गर्ने सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भएको छ।
भाग्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक सीता लम्साल र सिर्जनशील आधारभूत विद्यालयका प्रधानाध्यापक शोभा सापकोटाले वालवालिकाको विकास र शैक्षिक गुणस्तर बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । वालवालिकाको विकास र शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालयमा आज नै विद्यालयमा अनुगमन समिति समेत गठन गरिएको छ । यसै बीच आजको अन्तरक्रियात्मक छलफलपछि भाग्योदय आधारभूत विद्यालय र सिर्जनशील आधारभूत विद्यालयमा अनुगमन संयन्त्र गठन गरिएको छ।
भाग्योदय आधारभूत विद्यालय अनुगमन संयन्त्रमा जनप्रतिनिधिहरू पवित्रा अधिकारी, कल्पना परियार भाग्योदय टोल विकास संस्थाका अध्यक्ष मोतीप्रसाद अधिकारी, शिवनगर टोल विकास संस्थाका अध्यक्ष किसन गुरुङ, राजनैतिक दलका प्रतिनिधिहरु, जनजाति महिला समूहका अध्यक्ष उमा थापा, विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ लगायतलाई राखिएको छ यस्तै सिर्जनशील आधारभूत विद्यालयको अनुगमन संयन्त्रमा जनप्रतिनिधिहरू रणबहादुर दरै, पवित्रा अधिकारी, सिर्जनशील टोल विकास संस्थाका अध्यक्ष दुर्गा प्रसाद ढकाल त्यस्तै गरेर सिर्जनशील महिला समूहका अध्यक्ष कोपिला ढकाल, राजनैतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ लगायतलाई राखिएको जनाइएको छ यस्तै दुवै विद्यालयका परामर्शदाताका रूपमा शैक्षिक अभियान्ता गोपाल प्रसाद भण्डारी रहनुभएको छ । विद्यालयको अवस्था र गर्नुपर्ने काम र समस्या हेर्ने र अनुगमन गर्ने काम अनुगमन संयन्त्रले गर्ने जनाइएको छ ।







