spot_img

Sunday, April 5, 2026

स्वतन्त्र पत्रकार संघमा पुनः बास्तोलाको नेतृत्व

चैत २० ,नवलपुर। स्वतन्त्र पत्रकार सङ्घ नेपालको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभाले कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार नवलपुरको गैँडाकोटमा सम्पन्न केन्द्रीय अधिवेशनले पुनः बास्तोलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
नयाँ समितिको उपाध्यक्षमा निर्सना लक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा युक्तप्रसाद सुवेदी (बाग्लुङ), कृष्णबहादुर रायमाझी (कास्की), योगेश खपाङ्गी (झापा), प्रेमध्वज लामा र सुरेशप्रसाद सैंजु (भक्तपुर) तथा सागर कार्की (कास्की) निर्वाचित भएका छन् । सङ्घको साधारणसभा तथा अधिवेशनमा ११ जिल्लाका ६० जना प्रतिनिधिहरु सहभागी भएका थिए ।
यसअघि शुक्रबार बिहान भएको उद्घाटन सत्रमा वरिष्ठ पत्रकार उदयबहादुर अमात्यलाई २५ हजार रुपैयाँ राशिको ‘सामाजिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कार ग्रहणपछि अमात्यले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै पत्रकार स्वयं उदाहरण बन्न सक्नुपर्ने धारणा व्यक्त गरे । ‘हामी सबै स्वतन्त्र हुन सक्छौँ, तर त्यसका लागि चाहना आवश्यक हुन्छ’, उनले भने, ‘सबैलाई स्वतन्त्र बनाउन सकिन्छ, तर सबैमा त्यस्तो चाहना हुनुपर्छ ।’
उनले स्वतन्त्र पत्रकारिताले निष्पक्षता कायम गर्ने उल्लेख गर्दै कुनै पनि दलले स्वतन्त्र पत्रकारलाई आफ्नो प्रभावमा राख्न नसक्ने भन्दै सबै पत्रकारलाई स्वतन्त्र बनाउन सकिने उल्लेख गरेका हुन् । कार्यक्रममा संघका अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकार सङ्घको स्थापना पृष्ठभूमि स्पष्ट पार्दै २०६८ सालमा पत्रकार महासङ्घभित्र देखिएको दलीय भागबण्डाको विरोधबाट स्वतन्त्र पत्रकार सङ्घको यात्रा सुरु भएको जानकारी दिए । कास्कीबाट सुरु भएको सङ्घ अहिले देशका विभिन्न २९ वटा जिल्लामा विस्तार भइसकेको उल्लेख गर्दै उनले दलीय प्रभावबाट मुक्त, निष्पक्ष र व्यावसायिक पत्रकारहरूको साझा मञ्चका रूपमा सङ्घलाई विकास गरिएको बताए ।
‘पत्रकारले मतदान गर्नु बाहेक अन्य समयमा राजनीतिक आस्था प्रदर्शन गर्नु हुँदैन’ अध्यक्ष बास्तोलाले भने । उनका अनुसार पछिल्लो समय पत्रकारिताको सम्मान घट्नुमा पत्रकारिता पेसामा स्वतन्त्रताको अभाव प्रमुख कारण हो । त्यसकारण पत्रकार र पत्रकारिता दुवै स्वतन्त्र हुनुपर्नेमा सङ्घ दृढ रहेको भन्दै सदस्यता विस्तारलाई देशव्यापी बनाइने उनको भनाइ थियो ।
उनले स्वतन्त्र पत्रकार सङ्घ निष्क्रिय पत्रकारहरूको संस्था नभई सक्रिय र प्रतिबद्ध पत्रकारहरूको साझा सङ्गठन भएको उल्लेख गरे । सङ्घमा आबद्ध सबै पत्रकारहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेतृत्व गर्न सके मात्र सङ्गठन बलियो बन्नेमा बास्तोलाले जोड दिए । निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बास्तोलाले सङ्घ विधानअनुसार सञ्चालन हुने बताउँदै स्वतन्त्र पत्रकारिताको मूल उपलब्धि “आत्मसन्तुष्टि” भएको उल्लेख गरे ।
‘कुनै आग्रह–पूर्वाग्रहबिना लेखिएको समाचारले कसैलाई हानी नपु¥याओस् भन्ने विश्वास नै पत्रकारको शक्ति हो’ उनले भने । उनले स्वतन्त्र पत्रकारिताबाट पेशागत जीवन धान्न सकिँदैन भन्ने धारणा गलत भएको उल्लेख गर्दै आफूले तीन दशकदेखि यही अभ्यास गर्दै आएको दाबी गरे । साथै, बदलिँदो समयसँगै प्रविधिमैत्री पत्रकारिता अपरिहार्य बनेको भन्दै पत्रकारहरूलाई डिजिटल सीपमा सक्षम बनाउँदै पत्रकारितालाई अझ प्रभावकारी बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :