नवलपरासी । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड नवलपुरको ३१ औं वार्षिक साधारण सभा कावासोतीमा सम्पन्न भएको छ । संघका अध्यक्ष बद्रीनाथ नेपालको अध्यक्षतामा सम्पन्न सभामा नेफस्कुनका अध्यक्ष चन्द्र ढकालले सहकारी अभियानलाई अझ प्रभावकारी बनाउन सदस्य शिक्षा, प्रविधिको प्रयोग र व्यावसायिक व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीमार्फत आर्थिक सशक्तीकरण सम्भव रहेको उल्लेख गर्नुभयो ।
संघका अध्यक्ष बद्रीनाथ नेपालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्षमा सम्पन्न गतिविधि, वित्तीय अवस्था, सदस्यता विस्तार तथा भावी योजनाबारे जानकारी गराउनुभयो । कोषाध्यक्ष रामप्रसाद काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी-खर्च तथा लेखापरीक्षण विवरण सार्वजनिक गर्नुभयो।
नेफस्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले वित्तीय सुशासन, जोखिम व्यवस्थापन, सूचकको पालना र संस्थागत सुदृढीकरणमा जोड दिनुभयो । उहाँले सहकारीहरूलाई नियमअनुसार सञ्चालन गर्न र पारदर्शिता कायम गर्न आग्रह गर्नुभयो। संघका सह सचिव नारायण पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको धन्यवाद मन्तव्य संचालक राधा ढकालले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघका सचिव शालिकराम कोईरालाले गर्नुभएको थियो ।कार्यक्रममा नेफस्कुनका सञ्चालक गोपाल पौडेल, जिल्ला सहकारी संघका अध्यक्ष तिलकप्रसाद पराजुली, सचिव श्याम सुन्दर लामिछाने लगायत सहकारी अभियन्ता तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।साधारण सभाले आगामी वर्षका कार्यक्रम, नीति तथा योजना पारित गर्दै सहकारी क्षेत्रलाई जिम्मेवार र दिगो रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।





