मङ्सिर १,नवलपुर । भदौ २४ गते प्रदर्शनकारीद्वारा गरिएको आगजनीपछि बन्द भएको गैंडाकोटस्थित मौलाकाली केबलकार करिब दुई महिनापछि पुनः सञ्चालनमा आउने भएको छ । अस्ट्रियाबाट आएका इन्जिनियरको मर्मत तथा पुनर्निर्माणपछिको परीक्षण भइरहेको र अब छिट्टै ३-४ दिनपछि व्यवसायिक सेवा सञ्चालनमा आउने स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार आगजनीका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको बटम स्टेसन पुनर्निर्माणपछि अब भक्तजन तथा पर्यटकहरूका लागि सेवा सहज बन्ने भएको छ । मौलाकाली मन्दिर दर्शन तथा आसपासका धार्मिक-पर्यटकीय गन्तव्य पुग्न यस केबलकारले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । मौलाकाली केबलकारको माथिल्लो स्टेसनबाट देवघाट, चितवन र नवलपरासीका मनोरम दृश्य अवलोकन गर्न सकिने छ ।

मौलाकाली केबलकार केहि दिनमै पुनः सञ्चालनमा आउने




