spot_img

Wednesday, October 8, 2025

बृहत तीज विशेष सांगीतिक कार्यक्रम गैंडाकोटमा / प्रकाश पराजुलीको गीतले रुवायो ,दिनेश काफ्लेको हास्यव्यंग्यले हसायो ।

गैडाकोट (नबिन सुबेदी)। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुर शाखाले बृहत तीज विशेष सांगीतिक कार्यक्रम गरेको छ।  गैंडाकोट ९ मा रहेको नवजागरण खेलकुद मैदानमा शनिबार राष्ट्रिय चर्चित कलाकारहरूद्वारा दर्शकहरुलाई नचाउँदै, हँसाउँदै मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा चर्चित बिन खाती, गायक प्रकाश पराजुली, हास्यव्यंग्य कलाकार दिनेश काफ्ले, डान्सर तथा कोरियोग्राफर स्मृति तिमिल्सिना, चर्चित गायिकाहरू शिलु भट्टराई, इब्सल सन्ज्याल ,श्यामकला भण्डारी,दुर्गा सापकोटा, सपना परियार लगायतका थुप्रै कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा लोकप्रिय गायक बिन खातीले तिजको गीत टिकुली है मेरो टल टल टल्किनालाई… , मिर्मिरेको घाम… , हंगकंग मलाया… ,दियो कलश….. कल्ले रुमाल हल्लायो … जस्ता गीत गाएर दर्शक को मन जित्नु भयो ।

कुशे औंशी तथा बाबुको मुख हेर्ने दिन भएको कार्यक्रममा चर्चित गायक प्रकाश पराजुलीले एउटा विदेशिएको युवा र बाबाको बिचमा गीत गाउँदा दर्शकहरूको आँखा रसाएका थिए । जब उनले गीतका मार्मिक शब्द “हेर्दाहदै चाउरिएछन् बा हजुरका गाला.., सु:ख दिन सकम्लाकि जुनि यसै जाला…” आउन पाईन यो बाबा औशिमा, नरोए है ए बाबा बसेर कौशिमा… भन्दै गाउँदै जाँदा दर्शकहरू भावुक हुँदै सुनिरहेका थिए । त्यसपछि गायक पराजुलीले फुलमै रानी.., झरिले पैताला लरक्कै, खोली तिरैमा.., चट्टै छिनियो बिजुलि तार.., होर हो आउने थिईन मायालु रोर हो.. लगायतका थुप्रै गितमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।

त्यस्तै हाँस्य व्यङ्य कलाकार दिनेश काफ्लेले हँसाउँदा दर्शकहरू पेट मिचीमिची हाँसिरहेका थिए । जब काफ्लेले पहिलाको तीज गीत र अहिलेको तीज गीत र पहिला सासु र बुहारी बीचको भिन्नतालाई झल्काउँदै कमेडी गर्नुभएको थियो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको पनि क्यारिकेचर गरेर दर्शकलाई हँसाउनुभएको थियो । त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल (प्रचण्ड)को क्यारिकेचर गर्दै हँसाएका थिए । त्यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर गरिरहँदा दर्शकहरु हाँसिरहँदा मौसम परिवर्तन हुदै गर्मि बाट बिस्तारै चिसो  भईरहेको थियो । सिमसिम पानि परिरहदा पनि दर्शक काफ्लेको कमेडीमा रमाइरहेका थिए । बिस्तारै मुसलधारे पानि पर्यो तर पनि दर्शक बिचलित नभई दिनेश काफ्लेको राजनैतिक ब्यङ्यको मजा लिईरहेका थिए ।

तेस्तै गायिका इब्सल सन्ज्यालले माईक समाउदा दर्शकको अनुहारमा चमक बढ्दै थियो । उहाँले रेलै सलल भन्ने गितबाट आप्नो प्रस्तुती शुरु गर्दा दर्शक गितमा झुम्दै थिए । “नाचि दिन्छु म मेखै मारि, बनाउने भा दाई नवलपुरे बुहारी..” भन्ने शब्द गाउदै गर्दा दर्शकले हुन्छ हुन्छ भन्दै ओन्स मोर ओन्स भनि हुटिड्ड गरि रहेका थिए । त्यसपछि  गायिका सन्ज्यालले चितवन सौराह बोलको गित ,भजन लगायत थुप्रै गितमा आफ्नो प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा गायिकाहरू शिलु भट्टराई, दुर्गा सापकोटा, सपना परियार, श्यामकला भण्डारी लगायतका कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति मार्फत तिजको माहौल बनाएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुर शाखाका अध्यक्ष बुद्धिनाथ घिमिरेले हरितालिका तीजको अवसरमा भएको बृहत साङ्गितिक कार्यक्रम सफल भएको बताउनुभएको थियो। दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा र चर्चित राष्ट्रिय कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिएको अध्यक्ष घिमिरेले बताउनुभयो। हरितालिका तीजको अवसरमा मौलिक संस्कृति, परम्परालाई जगर्ना गर्नको लागि सांस्कृतिक कार्यक्रम गर्नुपरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले लोकदोहोरी प्रतिष्ठानले लोक संस्कृतिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो। हाम्रो मौलिक लोक संस्कृतिलाई बचाई राख्न र नयाँ पुस्तालाई पनि मौलिक लोक संस्कृतिको बारेमा बुझाउँदै अगाडि बढेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले हामी महिलाहरूको चाड हरितालिका तीजको अवसरमा महिला दिदीबहिनीहरूलाई नाच्न, नचाउन र हँसाउनको लागि प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उपप्रमुख कोइरालाले भन्नुभयो “लोक संस्कृति जोगाउने, परम्परागत रुपमा पहिला आमाबुबाले गाउने ती गीतहरू अहिले लोप हुँदै गएका छन् । ती पुराना भाकाहरू जसले महिलाहरूको वेदना बोल्थ्यो ती गीतहरूलाई जगेर्ना गर्न, नयाँ पुस्तासम्म र्पुयाउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लाई आग्रह गर्दछु।

कार्यक्रममा गैंडाकोट वडा नं ९ का वडाध्यक्ष धामनाथ सापकोटाले लोकदोहोरी प्रतिष्ठान ले हरितालिका तीजको अवसरमा वडामा कार्यक्रम राखेर दिदीबहिनीहरु लगायत सबैलाई मनोरञ्जन प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुरका कार्य समिति, धार्मिक व्यक्ति, सामाजिक व्यक्ति लगायत दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। गैडाकोट नगरपालिका प्रवर्धनको रुपमा रहेको कार्यक्रममा मुख्य सहयोगीको रूपमा गैंडाकोट वडा नम्बर ९ को कार्यालय रहेको छ । तेस्तै सहयोगीहरुमा नारायणी सामुदायिक बन उपभोक्ता समुह, एक्यासिटि बाथ, ओ बि इन्जिनियरिङ, किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड  तेस्तै सह-आयोजकको रूपमा नवजागरण ग्रामीण विकास केन्द्र र सुर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

सास्कृतिक कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव लोकगायक विशाल पौडेल र लोकगायक दिपेन्द्र ठकुरीले गर्नुभएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :