नवलपुर । नारायणगढ-बुटवल सडक खण्ड अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचिदा सडक अवरुद्ध भएको छ ।
मध्यविन्दु नगरपालिका-७ चोरमारा बजारको पश्चिमतर्फ रहेको गिरुबारी पुलको पूर्व तर्फको बायाँ भाग भाँचिदा पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
लोड गाडी पुलबाट पास हुने क्रममा पुल लच्किएर डेढ फिट तल झरेको प्रहरीले जनाएको छ । पुल भाँचिएपछि पूर्व–पश्चिम हिडेका सवारी साधन चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ ।
१८ चक्के टेलर किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जाँदै गरेको टेलर लगायत अन्य सवारी साधनहरु होल्ड हुँदा सवारी साधनहरुको लोडको कारण गिरुवारी खोलाको पुलको विच भाग दबिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादव ढकालले बताउनुभयो ।
उहाँका अनुसार अहिले वैकल्पिक बाटो निर्माणको लागि पहल भैरहेको छ । चार महिनाअघि लोड सवारी साधनका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबासमा सोहि प्रकृतिको विनयी पुल भाँचिएको थियो ।







