बैशाख ०४ ,गैडाकोट । प्रथम वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि गैडाकोट वडा नम्बर ७ ले जितेको छ ।
गैडाकोट फुटबल क्लबको आयोजनामा गैडाकोट क्षेत्रिय रंगशालामा बिहिबार भएको फाइनल खेलमा गैडाकोट वडा नम्बर ७ ले गैडाकोट वडा नम्बर १० लाई पराजित गरेको हो ।
फाइनल खेलमा गैडाकोट वडा नम्बर ७ ले गैडाकोट वडा नम्बर १० लाई ४-० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । खेलमा गैडाकोट वडा नम्बर ७ का सतिस मगरले ह्याट्रिक सहित ४ गोल गर्दै आफ्नो टिमलाई उपाधि दिलाएका हुन् ।
फाइनल खेलमा गैडाकोट वडा नम्बर ७ का सतिस मगर प्लेयर अफ दि म्याच भएका थिए ।
प्रतियोगितामा प्रथम हुने गैडाकोट वडा नम्बर ७ ले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता हुने गैडाकोट वडा नम्बर १० ले नगद ३१ हजार १ सय ११ रुपैयाँ सहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा गैडाकोट वडा नम्बर ७ का आकाश कुमाल उत्कृष्ट गोलरक्षक,गैडाकोट वडा नम्बर ३ का मिलन आले मगर सर्वाधिक गोलकर्ता र गैडाकोट वडा नम्बर १० कैलाश आले मगर सर्वोकृष्ट खेलाडी घोषणा हुँदै पुरस्कार प्राप्त गरेका थिए।
यस अघि भएको सेमी फाइनल खेलमा गैडाकोट वडा नम्बर ७ ले वडा नम्बर ११ लाई र गैडाकोट वडा नम्बर १० ले वडा नम्बर ३ लाई पराजित गदैं फाईनल प्रवेश गरेका थिए । गत चैत्र २७ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरका १५ वटा टिमको सहभागिता रहेको थियो ।
गैडाकोट फुटबल क्लबका कार्यबाहक अध्यक्ष गौरभ प्रताप गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा गैंडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसै गैडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झपिन्द्र खनाल , गैंडाकोट नगर खेलकुद विकास समिति स-सचिब रामप्रसाद अधिकारी , गैडाकोट वडा नम्बर २ का वडाअध्यक्ष प्रकाश सापकोटा ,
वडा नम्बर १० का वडाअध्यक्ष देबिदत्त कंडेल ,वडा नम्बर ७ का कार्यबाहक वडाअध्यक्ष तारापति त्रिपाठी ,वडा नम्बर ४ का कार्यबाहक वडाअध्यक्ष हरि पौडेल , समाजसेबी व्यक्तित्व गोकुल सापकोटा, जनप्रतिनिधिहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा गैंडाकोट बासि खेलप्रेमी महानुभाबहरुको उपस्थिति रहेको थियो ।
दर्शकको उल्लेख्य सहभागीता रहेको प्रथम वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।