पाथीभरा केबलकार निर्माण तत्काल रोक्न सांसदले माग

arthik top

फागुन ११ काठमाडौँ ।  पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण तत्काल रोक्न सांसदले माग गर्नुभएको छ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उहाँहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो। बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथीभरा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थपूर्ति गर्न समाजमा जनता  लडाउने काम भएको टिप्पणी गर्नुभयो।

Article Inline 2

“सरकार किन अनदेखा गरेको ? मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको”, सांसद लिङ्देनले भन्नुभयो, “सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिने निर्णय गरियो।”

अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै उहाँले जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको  र प्रतिकारमा उत्रिएको जानकारी गराउनुभयो। सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुम्लुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने उल्लेख गर्नुभयो।

सांसद तोसिमा कार्कीले सो क्षेत्रमा केबलकार निर्माण विवादरहित बनाउनुपर्ने उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। साथै उहाँले सो आयोजनाको निर्माण तत्काल  स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसद माधव सापकोटाले सुशासन कायम गर्न नसक्दा नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’मा पुगेको बताउनुभयो।

उहाँले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको कार्यकक्षमा दुर्व्यवहार गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद तारा लामाले कञ्चनपुरको बेलडाँडीमा बस्ती हटाउने नाममा स्थानीय प्रशासनबाट जनता घाइते भएको आरोप लगाउँदै घाइतेको उपचार गर्न र दोषीमाथी कारवाही गर्न सरकारसँग माग गर्नुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :