कामपाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरूप सञ्चालन गरेको भेटियो

kala sahitya top

मङ्सिर ८ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरूप सञ्चालन भएका पाइएको छ । साथै दुई सय बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको हो ।

गत असोज १० गतेदेखि कामपाले सुरु गरेको पर्वलक्षित अनुगमनमा चार सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको कामपाले जनाएको छ । एक सय ३३ वटामा म्याद सकिएका वस्तु भेटिएका छन् भने तीन सय ११ वटामा मूल्य सूची फेला नपरेको, दुई सय व्यवसाय दर्ता नगराई सञ्चालन भएको पाइएको कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमन गरिएका पसलमध्ये चार सय ३८ किराना, १८ मिठाई, १९ ड्राई फुड, सात मसला र १५ वटा डेरी पसल रहेका छन् ।

Article Inline 2

बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचअप, जामलगायत खाद्य वस्तुमा म्याद सकिएको पाइएको न्यौपानेले बताउनुभयो । रसायन भएका वस्तुसँगै खाद्य वस्तु राखिएको, मूल्य सूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसरको सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरिएकोलगायत समस्या रहेका उहाँले जानकारी दिनुभयो ।

मिठाई पसलहरूमा स्वीकृत भएकै रङ्ग प्रयोग गरिए पनि मात्रा नमिलाइएको, तेललाई बारम्बार प्रयोग गरिएको, मिठाईमा उत्पादन र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाई बनाउने ठाउँ, पसल र भाँडाकुँडाको सरसफाइमा नभएको पनि अनुगमनका क्रममा फेला परेका उहाँले उल्लेख गर्नुभयो । यी समस्या समाधानका लागि सम्बन्धितलाई अनुगमन टोलीले स्थलगत रूपमा निर्देशन र सुझाव दिएको छ ।

कामपाले खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता: प्रवर्द्धन शिविर [फुड सेफ्टी, बुट क्याम्प] कार्यक्रमसमेत सञ्चालन गरिरहेको विभागले जनाएको छ ।

खाद्य सेवामा अत्यधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रका व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गरिने कृषि तथा पशुपन्छी विभागका प्रमुख न्यौपानेले बताउनुभयो । पहिलो चरणमा साना तथा मध्यम भोजनालयका तीन सय सञ्चालकलाई तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।

दोस्रो चरणमा दसैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य वस्तुका उत्पादक तथा बिक्रेता तीन सय २१ र तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यवस्तुको स्वच्छताका लागि तेस्रो चरणमा एक सय ६२ जनालाई तालिम दिइएको कामपाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :