चालु आर्थिक वर्षमा नेपालले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको अनुमान

kala sahitya top

 चैत २१ ,काठमाडौँ। विश्व बैङ्कले चालु आर्थिक वर्षमा नेपालले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । मुलुकको आर्थिक वृद्धिलाई पर्यटन क्षेत्रमा देखिएको पुनरुत्थान र जलविद्युत् निर्यातले मुख्य रूपमा सहयोग पुगेको बैङ्कले जनाएको छ ।

विश्व बैङ्कले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने ‘कन्ट्री डेभलपमेन्ट अपडेट’ ले विप्रेषण  आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोगसमेत बढ्ने प्रक्षेपण गरेको छ ।

Article Inline 2

‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र तर न्यून निजी लगानी’ शीर्षक राखिएको उक्त अपडेटले आव २०२५ मा नेपालले थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्यपि यो प्रक्षेपण चुनौतीयुक्त रहेको पनि बैङ्कले उल्लेख गरेको छ ।

नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रूपमा तयार गरिएको हो । जसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकले बेहोर्नु परेका नीतिगत चुनौतीहरूको विश्लेषण गर्छ । ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको साउथ एसिया अपडेटले विश्वका कुनै पनि उदाउँदा बजारहरू र विकासशील मुलुकहरूमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ, जुन् सन् २०२४ मा छ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । प्रतिवेदनले यो दृष्टिकोण (अनुमान) झुक्काउने खालको पनि हुन सक्ने जनाएको छ । धेरै मुलुकको वृद्धि अझै पनि महाव्याधिपूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनु परेको अपडेटमा उल्लेख छ ।

यसै समय सबै दक्षिण एसियाली मुलुकहरूमा निजी लगानी वृद्धिमा सुस्तता आएकाले यस क्षेत्रले तीव्र रूपमा बढ्दो काम गर्ने उमेरको जनसङ्ख्याका लागि पर्याप्त जागिरहरू सिर्जना गर्न नसकेको जनाइएको छ ।

पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भन्नुभयो ।

दक्षिण एसियाका लागि विश्व बैङ्कका प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओहन्सोर्जले दक्षिण एसिया क्षेत्रले आफ्ना जनसाङ्ख्यिक लाभलाई पूर्ण रूपमा उपयोग गर्न नसकेको बताउनुभयो । यदि यो क्षेत्रले अन्य उदाउँदा बजारहरू र विकासशील अर्थतन्त्रले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठुलो जनसङ्ख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो, उहाँले भन्नुभयो ।

तीव्र रोजगारी सिर्जना गर्न र वृद्धिलाई बढावा दिन साउथ एसिया डेलभपमेन्ट अपडेटले केही नीतिगत सुझावहरू पनि दिएको छ । जस अन्तर्गत व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरूको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण रहेका छन् । यी उपायहरूले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका लागि आधार तयार गर्न सहयोग पुर्‍याउने उल्लेख छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :