चैत १२, काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा उक्त पर्व मनाइएको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा मनाउने प्रचलन रही आएको छ ।
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।
हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।







