इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने नेकपा एमालेको निर्णय

banner 2

चैत १२, काठमाडौँ। नेकपा (एमाले) ले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।  ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

सुहाङ नेम्बाङ सोही क्षेत्रका एमाले नेता सुवास नेम्बाङका कान्छा छोरा हुनुहुन्छ। सुवासको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।  यसैगरी बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ।

Article Inline 2

“हाम्रो पार्टी यस सरकार र सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्ने, अवरुद्ध भएका विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गतिदिने र देश राष्ट्रको हितको रक्षा र संवर्द्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस सङ्कल्प गरेको छ”, उहाँले भन्नुभयो।

सरकारले पनि त्यही हिसाबले आफ्ना कामलाई अझबढी चुस्त बनाई समस्या केन्द्रित गरी जनतामा भरोसा जगाउने गरी अगाडि बढोस् भनेर एमालेले शुभेच्छा व्यक्त गरेको पनि जानकारी दिनुभयो। सो बैठकले मस्कोमा भएको आतङ्ककारी हमलाको निन्दा र भर्त्सना पनि गरेको छ।

बैठकले पार्टीका नेता ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय पनि गरेको छ। यसअघि महरले केन्द्रीय सदस्यबाट राजीनामा दिनुभएको थियो। उपमहासचिव ज्ञवालीले नेता महरले पार्टी निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले पार्टीको विधानअनुसार उहाँलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको बताउनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :