फागुन ८, ललितपुर । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो।
त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गर्नुभएको हो।
उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताउनुभयो। जिम्मेवार नेपाली कांग्रेस स् समुुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिनुभयो। उहाँले भन्नुभयो–“मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ।”
महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव पेश गर्नुहुँदै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पार्टीले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाइ जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौँ। अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ।” महामन्त्री थापाले एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गर्नुभयो। उहाँले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी सङ्गठनलाई बलियो बनाउने बताउनुभयो







