फागुन ६, चितवन ( माधव सापकोटा )। चितवनको भरतपुर–४, धर्मचोक,लंकुमा फागुन २ देखि जारी श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सवमा फागुन ७ गते प्रधान आचार्य रङ्ग मन्दिर वृन्दावनका गोवर्धन पीठाधीश्वर गोवर्धन रङ्गाचार्य बालक स्वामीको आगमन हुने मूल समितिले जानकारी दिएको छ।
महोत्सवमा आईतवार देखि भगवानका विग्रहहरूको प्राणप्रतिष्ठात्मक विशेष कार्यक्रमको सुरुवात भएको छ। कार्यक्रम अनुसार फागुन ६ गते पूर्वाङ्ग पूजन, ७ गते भगवानका विग्रहरूको धान्याधिवास , ८ गते जलाधिवास, ९ गते नेत्रोन्मीलन,प्राणप्रतिष्ठा , १० गते महापूर्णाहुति हुने आचार्य दामोदर सापकोटाले बताउनुभयो।
महायज्ञमा अहिलेसम्म ४७ लाख रकम संकलन भएको मूल समितिका कोषाध्यक्ष रोमाकान्त कंडेलले जानकारी दिनुभयो।
महायज्ञमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायणका कार्यक्रमहरू चलिरहेका छन् ।







