फागुन ५, गैँडाकोट(प्रेम क्षेत्री) । काठमाडौँमा जारी विश्व सामाजिक मञ्चमा सरोकारवालाहरुले आज “सामाजिक न्याय र नागरिक सहभागिताको स्थानीयकरण” विषयमा संवाद गरेका छन् ।
प्रदर्शनी मार्ग स्थित नेपाल ल क्याम्पसमा विजय विकास स्रोत केन्द्रको सहजीकरणमा भएको “सामाजिक न्याय र नागरिक सहभागिताको स्थानीयकरण” विषयक संवाद कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीले सामाजिक न्याय र विकासबारे व्यवस्था गरिएकोमा नेपालको संविधान विश्वकै नमुना रहेको तर कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । केही भाषामा त्रुटि रहेको बताउँदै संविधानमा व्यवस्था गरिएको सामाजिक न्यायलाई सरकारले पालना मात्र गरिदिने हो भने पनि ठूलो उपलब्धी हुने बताउनुभयो ।
सतर्क नागरिक संगठन भारतका संस्थापक अञ्जली भारद्वाजले लोकतन्त्रका लागि सूचनाको अधिकार महत्त्वपूर्ण रहेको बताउनुभयो । सबै मिलेर सूचनाको अधिकारको माग गरेर कानुन निर्माण गरिए पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । राज्यको उदासिनताकै कारण जनता पनि यस विषयमा जानकार कम रहेको उहाँको भनाई थियो ।
द स्टोरी किचनका अध्यक्ष जया लुईंटेलले द्वन्द्वका कारण महिला पिडित हुनुपरेको बताउँदै उहाँले जबसम्म स्थानीय तहबाट नै आवाज बुलन्द गर्न सकिन्न तबसम्म सामाजिक न्यायको महशुस गर्न नसकिने बताउनुभयो । नेपालमा भएका हरेक आन्दोलनको जगबाट कयौँ नेता माथिल्लो निकायमा पुगेको तर उनिहरुले त्यसलाई सम्बोधन गर्न नसकेको उहाँको भनाई थियो ।
विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले सदाचार, सामाजिक न्याय र रूपान्तरणको क्षेत्रमा विजय विकास स्रोत केन्द्रले आफ्नो ४५ वर्षको गर्विलो यात्रालाई जीवन गंगाको रुपमा प्रस्तुत गरेको बताउनुभयो । राज्यले सामाजिक विकास संस्थालाई प्रवद्र्धन गर्न नसकेको बताउँदै नागरिकको आवाज बन्द गर्ने काम गरिएको बताउनुभयो ।
डमेन फाउण्डेसन बेल्जियमका, कन्ट्री डाइरेक्टर डा. शुशिल कोइरालाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुले सामाजिक न्याय र नागरिककको सहभागिताबारे विविध जिज्ञाशा समेत राखेका थिए ।
काठमाडौँमा जारी विश्व सामाजिक मञ्चमा विजय विकास स्रोत केन्द्रको स्टलमा केन्द्र र यस संस्थाद्वारा प्रवर्धित विजय परिवारका अन्य संस्थाका गतिविधिका बारेमा अवलोकनकर्ताले चासोपूर्वक अध्ययन अवलोकन गरेका छन् । विश्व सामाजिक मञ्च २०२४ नेपालमा पहिलो पटक आयोजना गरिएको हो । विश्व सामाजिक मञ्चमा श्रमिकका मुद्दाहरु, सामाजिक सुरक्षा, लैङ्गिक, किसान र जलवायु परिवर्तन लगायतका विषयहरूमा छलफल भएका छन् ।





