सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु

Article Inline top 1

माघ २३ ,काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडलले अधिवेशन आह्वान गर्नुभएको पत्रबारे दुवै सदनमा जानकारी दिँदै औपचारिक रूपमा अधिवेशनको सुरुवात गरिएको हो ।

कात्तिक तेस्रो साता अन्त्य भएको अधिवेशन ठिक तीन महिनामा सुरु भएको हो । सोमबार दुवै सदन प्रक्रियाको नियमित प्रारम्भभन्दा अन्य कार्यसूचीमा प्रवेश गरेनन् । माथिल्लो सदनमा भने सभाको कार्यसञ्चालन नियमावली संशोधनको मस्यौदा पेस भएको छ ।

Article Inline 2

दुवै सदनमा अधिवेशन आह्वानको पत्रबारे जानकारी गराइएको छ । यस्तै राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्राप्त मन्त्रीहरूको कार्यभार तोकिएको पत्रबारे जानकारी गराइएको थियो । यस्तै प्रतिनिधि सभामा अध्यक्ष मण्डलको चयन गरिएको छ ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अधिवेशनपिच्छे अध्यक्ष मण्डल चयनको अभ्यास छ । यस्तै प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट पारित भएका विद्युतीय व्यापार र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सन्देशसहित टेबल गरिएका छन् । कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सन्देशसहितको विधेयक टेबल गर्नुभएको हो ।

यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन अध्यादेश पेस गर्नुभएको छ । मन्त्री महतले दुवै सदनमा अध्यादेश पेस गर्नुभएको हो । सरकारले वार्षिक बजेटको तालिका हेरफेर गर्ने गरी अध्यादेश सिफारिस गरेको थियो ।

यस्तै दुवै सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको बाधा अड्काउ फुकाउ आदेश पेस भएको छ । प्रतिनिधि सभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र राष्ट्रिय सभामा कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले उक्त आदेश पेस गर्नुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :