माघ १५,काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ९७ रनले हरायो ।
जितसँगै आठ खेलबाट १२ अङ्क बनाएको आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिम सात खेलबाट आठ अङ्कसहित छैटौँ स्थानामा छ । सात खेलमा अपराजित रहेको नेपाल पुलिस क्लब १४ अङ्कसहित शीर्षस्थानमा छ । पुलिस दुई खेल अगावै फाइनलमा पुगिसकेको छ ।
जितका लागि आर्मीले दिएको दुई सय ६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४०.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ६८ रन बनाउनुभयो ।
शेर मल्लले २४, नरेन भट्टले १८ र प्रकाश पाण्डेले ११ रन जोड्नुभयो । बलिङमा आर्मीका जितेन्द्र मुखियाले पाँच विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा साहब आलम, बसिर अहमद र कुशल मल्लले एक एक विकेट झार्नुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले ४८.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाउनुभयो । सन्दीप रजालीले ३७, बसिर अहमदले ३६, सोमपाल कामीले ३१, सोन्तोष कार्कीले ३० र साहब आलमले २१ रन जोड्नुभयो ।
बलिङमा सुदूरपश्चिमका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिनुभयो । नरेन साउदले तीन तथा विकाश आग्रीले एक विकेट झार्नुभयो।