spot_img

Saturday, January 3, 2026

महिलाहरुद्वारा मेला महोत्सवमा निःशुल्क प्रवेशको माग

गैँडाकोट। नवलपुरका महिला उद्यमीहरुले महिलाहरुलाई निःशुल्क महोत्सव प्रवेश दिनुपर्ने सुझाव दिएका छन् । आगामी पुस २५ देखि नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने चौथो संस्करणको गैँडाकोट महोत्सव एवम् व्यापार मेलाबारे छलफलमा महिलाहरुले आफूहरुलाई निःशुल्क प्रवेश दिँदा स्थानीय उत्पादन प्रवद्र्धन हुने बताएका हुन् ।
छलफलका क्रममा युकुमारी शर्मा अनिताले महिलाहरु महोत्सव प्रवेश गर्दा उनीहरुले दैनिक उपभोग्य वस्तुसहितका स्थानीय उत्पादनहरु खरिद गर्दा महोत्सवको उद्देश्य पूरा हुने बताइन् । “पुरुषहरु महोत्सव प्रवेश गर्दा उनीहरु बाल उद्यान र खानपानमा रमाएको देखिन्छ” उनले भनिन्, “महिलाहरु महोत्सव जाँदा घरेलु उत्पादन अचार, हस्तकलाका सामग्री खरिद गर्न लागेको देखिन्छ ।” महिलालाई टिकट निःशुल्क गर्दा उनीहरुले आर्थिक करोबारलाई बढाउन भूमिका खेल्ने शर्माको भनाइ छ ।
छलफलका क्रममा महिला उद्यमी मिना केसीले महोत्सवमा धेरै महिला उद्यमीहरुलाई समेट्नुपर्ने बताइन् । पछिल्लो समय महिला उद्यमीहरुको सङ्ख्या बढ्दै जाँदा महिला सशक्तीकरण बढेको भन्दै केसीलाई महिलालाई अगाडि ल्याउँदा आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन् । महिला सशक्तीकरण गर्नका लागि आफूले साबुन बनाउनेलगायतका तालिमसमेत प्रदान गर्ने गरेको भन्दै उनले महिला उद्यमीहरुको सङ्ख्या बढ्दै जानु सकारात्मक परिवर्तन भएको बताइन् ।
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटको महिला समिति संयोजक सिर्जना पौडेलले महिला उद्यमीहरुलाई एकत्रित गरी अगाडि बढेको बताइन् । महिलालाई समेटेर आफ्ना हकहितमा काम गर्ने उद्देश्यले महिला समिति निर्माण गरिएको भन्दै पौडेलले महिलाहरुले घरको कामधन्दासँगै व्यवसायमा पाइला चाल्न थालेका बताइन् । महिलाहरुलाई अझै बढी उद्यमी र सशक्तीकरण बनाउन सबै महिला उद्यमीहरु जुट्नुपर्ने पौडेलको भनाइ छ ।
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलले आफूहरुले महिला उद्यमी र व्यवसायलाई प्राथमिकतामा राखी काम गर्दै आएको बताए । उद्योग वाणिज्य संघ महिलाहरुको साथ र सहयोगमा सधैँ तत्पर हुने भन्दै कँडेलले महिला उद्यमीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । महोत्सव उद्घाटनका दिन पुस १५ गते निकालिने शोभायात्रालाई भव्य बनाउन आग्रह गर्दै कँडेलले सम्पूर्ण संघसंस्था तथा उद्योगी व्यवसायीलाई सहभागी हुन आग्रह गरेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष दीपक सापकोटाले महिलाहरुले राखेका मागबारे संघमा छलफल गरिने बताए । महोत्सव प्रवेश गर्नका लागि महिलाहरुलाई सधैँ निःशुल्क गर्न नसकेपनि केही सहुलियत प्रदान गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने सापकोटाको भनाइ छ । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।
संघका महासचिव तेजनारायण पाण्डेले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ सदस्य शालिकराम सापकोटा, संघका पदाधिकारी एवम् सदस्य तथा महिला उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको थियो । महोत्सवस्थल नारायणी नदी किनारलाई सम्याउँदै महोत्सवको तयारी तीव्र पारिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शक उपस्थित हुने आयोजकले अनुमान गरेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :