गैँडाकोट। आठौँ गैँडाकोट उपमेयर अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनक नमुना माध्यमिक विद्यालय गैँडाकोटले जितेको छ। मङ्गलबार गैँडाकोट–११ स्थित भेडाबारी गौचरण खेलमैदानमा सम्पन्न फाइनल प्रतिस्पर्धामा रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै जनक नमुना मावि विजेता बनेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरमार्फत गरिएको थियो। पेनाल्टी सुटआउटमा जनक नमुना माविले तीन गोल गर्दा रत्नराज्य लक्ष्मी माविले दुई गोल मात्रै गर्न सफल भयो।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जनक नमुना माविकी गोलरक्षक आरती अधिकारी म्यान अफ द म्याच घोषित भइन्। उपाधिसँगै जनक नमुना माविले नगद ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको रत्नराज्य लक्ष्मी माविले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा जनक नमुना माविकी आकृति थापा प्लेयर अफ द टुर्नामेन्ट घोषित हुदै नगद पाँच हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरिन्। त्यसैगरी सर्वाधिक गोलकर्ताको उपाधि रत्नराज्य लक्ष्मी माविकी अप्सरा भुजेलले नगद तीन हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरिन्। उत्कृष्ट गोलरक्षकको उपाधि जनक नमुना माविकी आरती अधिकारीले प्राप्त गरिन्। उनले नगद तीन हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरिन्।
प्रतियोगिताका खेल संयोजक दुर्गा घिमिरेका अनुसार प्रतियोगितामा सहभागी सबै खेलाडीको एक लाख रुपैयाँ बराबरको बीमा गरिएको थियो। उहाँले उपमेयर कप फुटबल प्रतियोगिताले गैँडाकोटका छात्राहरूमा फुटबल खेलप्रति आकर्षण बढाउनुका साथै खेल क्षेत्रमा अघि बढ्न हौसला प्रदान गरेको बताउनुभयो।
प्रतियोगिताको समापन समारोहमा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र सामूहिक भावनाको विकास गर्ने बताउनुभयो। उहाँले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीभित्र लुकेका प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो।
नगर उपप्रमुख शान्ति कोइरालाले छात्राहरूलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्न उपमेयर कप प्रतियोगिता महत्त्वपूर्ण माध्यम बनेको बताउनुभयो। उहाँले छात्राहरूले पनि अवसर पाएमा खेलकुद क्षेत्रमा उत्कृष्ट सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी गैँडाकोट खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले यस्ता प्रतियोगिताले विद्यालयस्तरबाटै प्रतिभावान खेलाडी पहिचान गर्न र छात्राहरूलाई खेलकुदमा सक्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नु भयो ।
समारोहमा प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, विद्यालयका प्रधानाध्यापकहरूको तर्फबाट जनक नमुना माविका प्रधानाध्यापक बुद्धिसागर पण्डित तथा समाजसेवी गजेन्द्र आलेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गर्नुका साथै विद्यालय तथा नगरको पहिचान स्थापित गर्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको थियो। उहाँहरूले छात्राहरूलाई खेलकुदमा समान अवसर र प्रोत्साहन आवश्यक रहेको बताउनुभयो।
गैँडाकोट क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत गरी २२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा खेलकुद क्षेत्रका व्यक्तित्व, विद्यार्थी, अभिभावक, शिक्षक तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।













