गैंडाकोट । नवलपरासी पुर्व गैंडाकोट वार्ड नम्बर ८ मा रहेका पशुपालन किसानहरूलाई लक्षित गरी पशु औषधि तथा भिटामिन वितरण गरीएको छ। गैडाकोट नमुना भैसी पालक कृषक समुहको आयोजनामा वडा कार्यालय ८ को परिसरमा आज (सोमबार) भएको कार्यक्रममा वडामा रहेका १४० जना पशुपालन कृषकलाई पशुऔषधि भिटामिन,क्याल्सियम,पाचक,घाउमा लाग्ने मलम लगायतका सामग्री बितरण गरेको हो।
वडाको ८१/८२ कोे बजेट विनियोजनबाट वडामा रहेका ११ वटै टोल बिकास संस्थाका किसानलाई करिब २ लाख ६ हजार बराबरको सामाग्री वितरण गरेको हो। बितरण सामाग्रीमा वडा कार्यलयले ७० प्रतिशत रकम दिएको हो भने किसानले ३० प्रतिशत रकम बेहोर्ने प्रमुख अतिथि गैंडाकोट नगरपालिका वार्ड नं ८ का वडा अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । वडाध्यक्ष सापकोटाले कृषकले अनुदान पाउनको लागि संस्था दर्ता गरी आउनु भयो भने वडाले धेरै सुविधा कृषकलाई दिन तयार रहेको बताउनुभयो । हाम्रो वडामा भ्याक्सीनेसन कार्यक्रम भइसकेको छ । अहिले वडामा २४७ गाई बाच्छा,बाच्छी छन् ४०९ वटा भैंसी, पाडा,पाडी छन् १४१ वटा बंगुर बच्चा,बच्ची छन् र ८१० वटा बाख्रा ,पाठा,पाठी रहेको वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । वडाले भैंसीपालक किसानलाई ४० हजार दिइसकेको, घाँस काट्ने मेसिन पनि दिएको छ र अर्को वर्षको लागि म्याटको माग भइरहेको हुनाले त्यो पनि किसानलाई दिने योजना रहेको सापकोटाले बताउनुभयो।
गैंडाकोट पशु शाखा पशु विकास अधिकृत छैटौं नगेन्द्र शाहले वडा बाट दिएको क्याल्सियम कति खुवाउने भन्दा गाई भैँसीको हकमा प्रतिदिन १०० मिलि लिटर ,बाख्राको हकमा प्रतिदिन २० देखि ३० मिलि लिटर खुवाउन मिल्ने बताउनु भयो । शाहले भन्नुभयो पाचक १५/१५ ग्रामको गाई भैसीको हकमा बिहान १ प्याकेट र बेलुका १ प्याकेट ,बाख्राको हकमा १ प्याकेटलाई तीन भागमा खुवाउन सकिन्छ भने जुका मार्ने औषधि एक चक्कीले १५ दिनलाई पुग्छ बाख्राको तौल अनुसार खुवाउन सकिन्छ ।
गैडाकोट नमुना भैसी पालक कृषक समुहका अध्यक्ष रामबन्धु पौडेलले पशु औषधि तथा भिटामिन सामग्रीका लागि वडामा रहेका मध्ये हाम्रो समुहमा आवद्ध भएका गाई भैंसीको संख्या ३७५ र बाख्राको संख्या १५० रहेको र व्यावसायिक रूपमा पशुपालन गर्ने कृषि फर्म ८ वटा रहेको बताउनुभयो। अध्यक्ष पौडेलले औषधिलाई प्रभावकारी ढंगले प्रयोग गरीदिनुहोला भन्दै औषधिलाई मात्रा मिलाएर खायो भने औषधि हुन्छ, मात्रा मिलाउन जानिएन भने विष हुन्छ। त्यसैले जानेर मात्र खुवाउनु होला ,नजानेको खण्डमा पशु चिकित्सकलाई सोध्न आग्रह गर्नुभयो।
कार्यक्रममा गैंडाकोट वार्ड नम्बर ८ का जनप्रतिनिधि खगेश्वर सापकोटा, कमला आचार्य ,तर्कबहादुर थापा, टोल विकास संस्थाको प्रतिनिधि ,कृषक ,समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण गैडाकोट नमुना भैँसीपालक कृषक समूहका सचिव वासुदेव आचार्यले गर्नुभएको थियो।
वडाबाट वितरण गरेका सामग्रीहरू र वडाले गर्दै आइरहेको कामको बारेमा सन्तुष्ट रहेको कार्यक्रममा उपस्थीत वडाबासिहरु बताउछन् ।