बखान मिनी रगंशालामा भएको प्रतिस्पर्धात्मक खेलमा अभिषेक चर्चले हातेमालोलाई २-१ ले हरायो । खेलको पहिलो हाफमा अभिषेक चर्चले हातेमालोलाई दबाबमा राखेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सन्दीप मल्लले २७ औं मिनेटमा गोल गर्दै अभिषेक चर्चलाई अग्रता दिलाए ।
दोस्रो हाफमा भने हातेमालो हाबी भएको थियो । उसले लगातार आक्रमक खेल प्रस्तुत गरे पनि गोल गर्न भने सकेन । खेलको अन्तिम मिनेटमा अभिषेक चर्चले गरेको काउन्टर अट्याकमा गणेश हमालले गोल गर्दै अग्रता दोब्बर बनाए । अतिरिक्त समयको तेस्रो मिनेटमा विपिन कँडेलले हातेमालोका लागि एक गोल गरे ।
बाँकी समयमा गोल हुन सकेन र अभिषेक चर्च विजयी भयो । खेलको अतिरिक्त समयमा अभिषेक चर्च १० खेलाडीमा सीमित भएको थियो । उसको हेनरीले दोहोरो पहेँलो कार्ड पाएका थिए । उनले अब सेमिफाइनल गुमाउनेछन् । अभिषेक चर्चका गणेश हमाल प्लेयर अफ दि म्याच भए ।
अभिषेक चर्चले अब फाइनल प्रवेशका लागि २९ गते दोस्रो सेमिफाइनलमा सूर्यपुर एफसीको सामना गर्नेछ । त्यस अघि सोमबार पहिलो सेमिफाइनलमा शारदा युथ क्लब शारदानगर र पटिहानी एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ ।