गैंडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूहले बृक्ष रोपेर एघारौँ ढवाहताल स्थापना दिवस मनाएको छ। सोमबार समूहको ताल वरिपरि करिब ५०० वटा विभिन्न जातका बिरुवा रोपेर स्थापना दिवस मनाएको हो।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले वृक्षारोपण गरेर कार्यक्रम सुरु गर्नु भएको हो । समूहको क्षेत्रभित्र रहेको ढवाह ताल २०७२ असार ८ गते स्थापना भएको थियो ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले ढवाह ताल जस्ता पर्यटकीय स्थलले पालिकाको उचाइ बढाएको बताउँदै नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
समुहको अध्यक्ष हरिमाया अधिकारीले ताल निर्माणको योजना,योजना मात्र नभई प्रकृतिलाई जोगाउने, वन्यजन्तुको जीवन बचाउने , पानी सुरक्षित गर्ने एउटा पवित्र संकल्प लिएर स्थापना भएको बताउनुभयो। ढवाह ताललाई संरक्षण गरेर पर्यटनसँग जोडेर संस्थाले आम्दामी पनि बढाएको बताउनुभयो ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग जयश्री पुलबाट करिब ८०० मिटर उत्तरतर्फ अवस्थित ढवाह ताल पर्यटकहरूको लागि एउटा गन्तव्य बनेको छ।

अहिले विभिन्न पर्यटकहरू घुम्नको लागि ढवाहतालमा आउने गर्दछन र तालमा डुंगा सहेरको पनि ब्यबस्था रहेको संस्थाको कोषाध्यक्ष डिला सुवेदीले जानकारी दिनुभयो। स्थापना दिवसको अवसरमा समूहले विभिन्न प्रजातिका करिब ५०० वटा बिरुवा रोपेको सचिव कमला शर्माले जानकारी दिनुभयो।
कार्यक्रममा गैंडाकोट वडा नम्बर ६ का वडा अध्यक्ष सुभाष चापागाईं, सब डिभिजन वन कार्यालय गैडाकोटका प्रमुख सन्तोष मिश्र, स्थानीय वन महासंघका सचिव सुरेन्द्र ढुंगाना,सामुदायिक वनको तर्फबाट जय श्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमाल, टोल विकास संस्थाको तर्फबाट उज्ज्वल टोल विकास संस्थाका अध्यक्ष दुर्गाबहादुर राना, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
समूहका उपाध्यक्ष नरजंग रानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समूहको सचिव कमला शर्माले गर्नुभएको थियो।






