कात्तिक २५ ,तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देश विकास गरी गरिबी हटाउन आर्थिक स्रोत जुटाउने सम्बन्धमा पार्टी बिच एकता हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राजनीतिक दलसँग विचार राम्रो भए पनि त्यस विचारलाई पूरा गर्नका लागि आर्थिक स्रोतको योजना बन्न नसकेकाले विकास बजेट थोरै हुँदा देश पछि परेको बताउनुभयो ।
नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोतका बिचमा कहीँ कतै तालमेल नमिलेको मन्त्री पौडेलको भनाइ थियो । मन्त्री पौडेले, ‘पार्टीका सिद्धान्तहरू राम्रा छन् भाषण पनि मिठा गर्छन् तर गर्न स्रोत कसरी जुट्छ भन्नेमा ध्यान दिएका छैनन् । ‘स्रोतबिना कुनै पनि विषयको कार्यान्वयन सम्भव छैन, स्रोत नभई समाजवाद लागू हुन सम्भव छैन’ उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री पौडेलले पार्टी सङ्गठन मजबुत बनाउने विषयमा पार्टीका नेता तथा कार्यकर्ताले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सङ्गठन बलियो नभए पार्टीका नेता तथा कार्यकर्ताको भविष्य सुरक्षित नहुने पौडेलको भनाइ छ ।