कात्तिक ६ ,गैंडाकोट । धार्मिक, ऐतिहासिक महत्व बोकेको गैंडाकोटस्थित प्रसिद्ध मौलाकालिका मन्दिरमा हरेक मंगलबार साँझ महाआरती हुने गरेको छ ।
मौलाकालिका मन्दिरको आयोजना तथा मौलाकालीका केवलकार प्रा.लीको सहयोगमा श्रावण महिनादेखि महाआरतीको सुरुवात भएको हो । महाआरतीलाई निरन्तरता दिँदै भदौं महिनादेखी हरेक मंगलबार साँझ महाआरती हुने गरेको छ । मौलाकालीका केवलकारले पनि महाआरतीलाई लक्षित गरी मंगलबारे सन्ध्या आरती अफर समेत ल्याएको छ ।
अफर अन्तर्गत हरेक मंगलबार साँझ ५ बजेपछि पाइने टिकटमा ५० प्रतिशत छुट दिईएको केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताउनुभयो। साँझमा पनि मन्दिरमा भक्तजनलाई प्रवेश गराउने उद्देश्यले महाआरती शुरु गरिएको उहाँले बताउनुभयो । साँझपख मन्दिर जान र मन्दिरको महाआरतीमा सहभागी हुन चाहने धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने विश्वास लिएको उहाँको भनाई छ । आरती अफर टिकट हरेक मंगलबार साँझ ५ बजेपछि पाइनेछ । आरती भएको दिन केवलकार साँझ ८ बजेसम्म सञ्चालन हुने पौडेलले जानकारी दिनुभयो । छुट अफर अवधिमा टिकट मूल्य २७५ रुपैयाँ रहनेछ ।
मौलाकालिका मन्दिरसम्म पुग्नका लागि गैँडाकोटबाट मौलाकालिकाको फेदीसम्म यातायातको व्यवस्था रहेको छ । करिब एक घण्टाको सिँढीमार्गबाट पैदल यात्रा गर्दै उकालो उक्लिएर तथा मोटरसाइकल र अटो चढेर पनि मौलाकालिका मन्दिरसम्म पुग्न सकिन्छ तर मौलाकालि केवलकार बाट भने मौलाकालिका मन्दिर पाच मिनेटमा नै पुग्न सकिन्छ ।