गैँडाकोट। विश्व मधुमेह दिवस २०२६ को अवसरमा गैँडाकोटमा मधुमेह सचेतना तथा स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ।मधुमेह समाज गैँडाकोट र कालीगण्डकी सुपर स्पेशलिटी क्लिनिकको संयुक्त आयोजनामा भएको कार्यक्रममा मधुमेहको पहिचान, रोकथाम, नियन्त्रण तथा स्वस्थ जीवनशैलीका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा. विमल पौडेलले मधुमेहलाई समयमै पहिचान गर्न सके यसको जटिलताबाट बच्न सकिने बताउनुभयो। उहाँले मधुमेह लागेपछि मात्र उपचार खोज्नेभन्दा रोग लाग्न नदिन आवश्यक सावधानी अपनाउनु महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम, तौल नियन्त्रण र समय–समयमा स्वास्थ्य परीक्षण गर्ने बानीले मधुमेहको जोखिम कम गर्न तथा रोग नियन्त्रणमा राख्न सहयोग पुग्ने उहाँको भनाइ थियो।उहाँले मधुमेहका प्रारम्भिक लक्षण, जोखिमका कारण, समयमै रोग पहिचान गर्ने उपाय तथा जीवनशैली परिवर्तनको महत्त्वबारे सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा उहाँले मधुमेहको अवस्था पहिचान तथा नियन्त्रणका लागि खाली पेटमा गरिने रगतमा चिनीको मात्रा परीक्षण (Fasting Blood Sugar), खाना खाएको दुई घण्टापछिको रगतमा चिनीको मात्रा परीक्षण (Postprandial Blood Sugar) र पछिल्लो तीन महिनाको औसत रक्तचिनीको अवस्था देखाउने HbA1c परीक्षणको महत्त्वबारे समेत जानकारी गराउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा मधुमेह समाज गैँडाकोटका अध्यक्ष केदारनाथ न्यौपानेले मधुमेह भएका व्यक्तिहरूलाई एकै ठाउँमा जोड्ने, उनीहरूमा स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने र नियमित स्वास्थ्य परीक्षणका लागि प्रेरित गर्ने उद्देश्यले समाजले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले मधुमेहलाई लुकाएर राख्नुभन्दा समयमै पहिचान गरी नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको सल्लाहअनुसार व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। समाजले मधुमेहसम्बन्धी सचेतना विस्तार तथा प्रभावित व्यक्तिहरूलाई आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने उहाँको भनाइ थियो।
यसै अवसरमा मधुमेह समाज गैँडाकोटका आजीवन सदस्यहरूका लागि Capital Reference Labs (CRL), भरतपुरको प्राविधिक सहयोगमा निःशुल्क HbA1c परीक्षणसमेत गरिएको थियो।
कालीगण्डकी सुपर स्पेशलिटी क्लिनिककी सञ्चालिका रीता पण्डितले क्लिनिकको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमले समुदायमा मधुमेहसम्बन्धी स्वास्थ्य सचेतना विस्तार गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, मधुमेह समाजका पदाधिकारी, सहभागी तथा प्राविधिक सहयोगी संस्था CRL, भरतपुरप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष शरदचन्द्र पण्डित, पूर्व अध्यक्षहरू झलककाजी पौडेल, नेत्रनारायण सिग्देल लगायत समाजका पदाधिकारी तथा मधुमेह भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण समाजका सचिव हरिकृष्ण पौडेलले गर्नुभएको थियो।
कार्यक्रमले मधुमेहको समयमै पहिचान, नियमित परीक्षण तथा उचित व्यवस्थापनबारे समुदायमा सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।









