गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर सचिव अस्मिता घिमिरेले आगामी स्थानीय तह निर्वाचनमा गैँडाकोट नगरपालिकाको उपप्रमुख पदका लागि उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेकी छन्।
रास्वपाको विचार र परिवर्तनको अभियानसँग जोडिँदै घिमिरे आगामी निर्वाचनका लागि प्रथम चरणको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत Candidate Club मा सहभागी हुने भएकी हुन्।
आफू नयाँ पद वा पहिचानका लागि नभई नयाँ सोच, स्पष्ट उद्देश्य र जनताप्रतिको जिम्मेवारीबोधका साथ राजनीतिमा अघि बढेको घिमिरेले बताएकी छन्। इमान्दारिता, पारदर्शिता र सुशासनलाई जीवनको मूल मन्त्र मान्दै आफूले जीवनमा जोडिन आएका हरेक सम्बन्ध र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै आएको उनको भनाइ छ।
स्थानीय स्रोत, सीप र परम्परागत उत्पादनलाई उद्योगसँग जोड्दै आत्मनिर्भर समाज निर्माण गर्ने आफ्नो सोच रहेको उनले उल्लेख गरेकी छन्। ठूला आश्वासनभन्दा स्पष्ट योजना र परिणाममुखी काममा विश्वास गर्ने बताउँदै उनले राजनीतिलाई समाजसेवाको माध्यम बनाउन चाहेको स्पष्ट पारेकी छन्।









