गैँडाकोट। सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारण सभा आइतबार गैँडाकोट नगरपालिका–७, शीतलनगरस्थित संस्थाको परिसरमा सम्पन्न भएको छ।
साधारण सभामा संस्थाको प्रगति, आर्थिक अवस्था तथा भावी योजनाबारे छलफल गर्नुका साथै उत्कृष्ट ऋणी र विभिन्न विधामा बचततर्फ उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष होमनाथ सापकोटाले सहकारी संस्थाहरू समुदायको आर्थिक तथा सामाजिक विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । वडा अध्यक्ष सापकोटाले सहकारीलाई सदस्यप्रति उत्तरदायी, पारदर्शी र विश्वासिलो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
संस्थाका संस्थापक अध्यक्ष गोविन्द सापकोटाले सहयात्री सहकारीको स्थापनाकालीन उद्देश्य र यात्रालाई स्मरण गर्दै सानो बचतबाट सुरु भएको अभियानले आजको अवस्था हासिल गर्नु सदस्यहरूको निरन्तर साथ, विश्वास र सामूहिक प्रयासको परिणाम भएको बताउनुभयो।
त्यस्तै, संस्थाका पूर्वअध्यक्ष तारापति त्रिपाठीले सहकारीको दिगोपनका लागि सदस्यहरूको सक्रिय सहभागिता, नियमित बचत, जिम्मेवार ऋण परिचालन र सुशासन आवश्यक रहेको बताउनुभयो।
संस्थाका अध्यक्ष भीम सापकोटाले सदस्यहरूको चाहनाअनुसार सहकारीको मोबाइल एप तथा मोबाइल बैंकिङ सेवामार्फत सहकारीदेखि बैंकसम्म रकम पठाउन सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो। अध्यक्ष सापकोटाले अबको सहकारी अभियानमा डिजिटल प्रविधि, आधुनिक वित्तीय प्रणाली, व्यावसायिक व्यवस्थापन, तथ्यमा आधारित निर्णय र उत्तरदायी नेतृत्व आजको आवश्यकता भएको बताउनुभयो। प्रविधिमैत्री सेवा विस्तार गर्दै सदस्यलाई सहज, सरल र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने दिशामा संस्था अघि बढिरहेको उहाँको भनाइ थियो।
साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन सचिव सावित्रा खवासले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिनप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक अनिता पौडेल घिमिरेले प्रस्तुत गर्नुभएको थियो।
संस्थाका उपाध्यक्ष राजेन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक बृहस्पति घिमिरेले गर्नुभएको थियो।
सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना २०५३ साल वैशाख ३० गते तत्कालीन सहयात्री युवा क्लबको अगुवाइमा भएको हो। समुदायमा सञ्चालित समूह व्यवस्थापन तथा बचतका क्रममा २७ जना सदस्यले दैनिक एक रुपैयाँका दरले बचत गर्ने उद्देश्यसहित सुरु गरेको अभियान आज एक स्थापित सहकारी संस्थाका रूपमा विकसित भएको छ।
‘आमाको काखदेखि घाटसम्मको सदस्यको यात्रामा सहयात्रा’ गर्ने मूल भावनासहित अघि बढेको संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार, आत्मनिर्भरता अभिवृद्धि र ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सहकारी भावनालाई आत्मसात् गर्दै आएको छ।
संस्थाको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २ हजार ३६५ जना सेयर सदस्य आबद्ध भएका छन् भने संस्थाले १४ करोड ४८ लाख २२ हजार ८५१ रुपैयाँ निक्षेप संकलन गरेको छ।











