गैंडाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गैंडाकोटमा कांग्रेस इतर पक्षको नगरस्तरीय अधिवेशन भेला सम्पन्न भएको छ। बिहीबार गैंडाकोट–५ स्थित गैंडाकोट फन पार्कमा भएको भेलाले शालिकराम घिमिरेलाई नेपाली कांग्रेस गैंडाकोट नगरको संयोजक तोकेको छ।
कार्यक्रममा नेपाली कांग्रेस नवलपुर जिल्ला संयोजक अशोक बस्ताकोटी, नेपाली कांग्रेस नवलपुरका पूर्व जिल्ला सचिव महेन्द्रभक्त अधिकारी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सतिशराज न्यौपाने तथा नेपाल तरुण दल नवलपुरका जिल्ला उपसभापति राजन सुवेदीलगायतले आफ्नो धारणा राखेका थिए।
भेलामा सहभागी वक्ताहरूले पार्टीभित्र विभाजन र गुटगत दूरी बढाउनुभन्दा आपसी समझदारी र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले छुट्टाछुट्टै समूह बनाएर अघि बढ्नुभन्दा सबै पक्ष मिलेर नेपाली कांग्रेसलाई एकढिक्का बनाउन आवश्यक रहेको धारणा राखेका थिए।तेस्तै पार्टीको आन्तरिक विवाद तथा अदालतमा विचाराधीन विषयलाई केन्द्रमा राखेर थप धध्रुवीकरण गर्नुभन्दा आपसी संवाद, सहमति र सहकार्यबाट अघि बढ्नुपर्ने बताएका थिए। पार्टीको संगठनलाई बलियो बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस नवलपुरका जिल्ला उपसंयोजक अनन्त कँडेलले गरेका थिए। कँडेलका अनुसार गैंडाकोटमा असोज १७ गतेदेखि वडा अधिवेशनको सुरुवात हुनेछ। नियमित वडा अधिवेशन सम्पन्न भएपछि नगर, क्षेत्रीय तथा प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
भेलाले गैंडाकोटमा पार्टीको संगठनात्मक गतिविधिलाई निरन्तरता दिँदै आगामी अधिवेशनलाई सहमति, सहकार्य र एकताको वातावरणमा सम्पन्न गर्ने बताएको छ।









