गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३६औँ वार्षिकोत्सवको अवसरमा आयोजित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको तेस्रो चरण आज गैँडाकोटमा सम्पन्न भएको छ। नवलपुर र चितवन क्षेत्रका २२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले विकू र प्रविधि विषयमा आफ्नो धारणा, विचार तथा प्रस्तुति प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला, सिर्जनशीलता, तार्किक क्षमता तथा समसामयिक विषयप्रतिको बुझाइ विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा गैँडाकोट इङ्लिस स्कुल, गैँडाकोटकी सलिना थापा क्षेत्री प्रथम हुनुभएको छ। त्यस्तै नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुरकी प्रकृति कोइराला द्वितीय, कालिका नमुना माध्यमिक विद्यालय, गैँडाकोटकी लक्ष्मी सापकोटा तृतीय तथा श्री माध्यमिक विद्यालय गौरिगञ्ज, भरतपुरकी समीक्षा कँडेल सान्त्वना स्थान प्राप्त गर्न सफल हुनुभएको छ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटाले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसँगै सहकारी र प्रविधिबारे नयाँ पुस्तालाई जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकमा आधारित शिक्षासँगै वक्तृत्वकला, सिर्जनशीलता र व्यावहारिक ज्ञान आवश्यक रहेको बताउनुभयो। उहाँले विकू र प्रविधि जस्तो समसामयिक विषयमा विद्यार्थीलाई आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नु सकारात्मक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो।
संस्थाका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा तथा विजय सूचना तथा शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले प्रतियोगिताको विषयवस्तु तथा कार्यक्रमको उद्देश्यबारे सम्बोधन गर्नुभएको थियो।

वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले सहकारी क्षेत्र र प्रविधिबीचको सम्बन्ध, प्रविधिको बढ्दो प्रयोग, सहकारी संस्थाका सेवा प्रवाहमा प्रविधिको भूमिका तथा प्रविधिको प्रभावलगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीहरूलाई सहकारीका गतिविधि र आधुनिक प्रविधिबीचको सम्बन्धबारे जानकारी गराउँदै आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेल तथा ऋण विभाग प्रमुख पूर्णप्रसाद सापकोटाले गर्नुभएको थियो।
कार्यक्रममा विकूको सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न समितिका सदस्यहरू, सेवाकेन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारीहरू, शिक्षक, विद्यार्थी, विभागीय प्रमुख, सेवाकेन्द्र प्रमुख तथा संस्थाका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।








