गैँडाकोट। नवलपुरको गैँडाकोटमा जारी अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फ वडा नं. ३ र वडा नं. ४ फाइनलमा प्रवेश गरेका छन् । वडा नं ४ ले १४ लाई र ३ ले ७ लाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।
आईतबार भएको सेमि फाइनलको पहिलो खेलमा गैँडाकोट वडा नम्बर ४ बिजयी भएको छ । गैंडाकोट वडा नं.४ र गैंडाकोट वडा न १४ बीच प्रतिस्पर्धा भएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा वडा नं. ४ ले २– ० गोल अन्तरले बिजयी हुदै फाइनलको यात्रा तय गरेको छ। वडा नं. ४ का स्ट्राइकर अविनाश गुरुङको दुई गोलको मद्दतले टिमले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलमा वडा नम्बर ४ को जितमा जर्सी नम्बर ९ का खेलाडी अविनाश गुरुङ नायक बन्नु भयो । उहाले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमका लागि महत्वपूर्ण २ गोल गर्नुभयो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका गैंडाकोट वडा नं. ४ का खेलाडी अविनाश गुरुङ (जर्सी नं. ०९) प्लेयर अफ द म्याच घोषित भएको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।
यसैबिच, आइतबार सम्पन्न दोस्रो खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै वडा नम्बर ३ फाइनलमा प्रवेश गरेको छ । अत्यन्तै रोचक र उत्साहपूर्ण खेलमा वडा नम्बर ३ ले वडा नम्बर ७ लाई २–० को गोल अन्तरले स्तब्ध पारेको हो ।
खेलको सुरुवाती समयमै वडा नम्बर ३ का जर्सी नम्बर १ का खेलाडी विकास सारु मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो।
त्यस्तै, खेलको लयलाई कायम राख्दै वडा नम्बर ३ कै अर्जुन सुनारी मगरले दोस्रो गोल गरी टोलीको जित सुनिश्चित गर्नुभयो । वडा नम्बर ३ का गोलरक्षक खेलाडी विकास सारु मगर (जर्सी नं. १) खेलको म्यान अफ द म्याच घोषित हुनुभयो ।
वडा नम्बर ३ ले अब फाइनल उपाधिका लागि वडा नं ४ सँग सोमबार खेल्ने भएकोे छ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते सोमबार पुरुषतर्फको फाइनल (वडा नं. ३ विरुद्ध वडा नं. ४) खेल नवजागरण खेल रंगशाला, गैँडाकोट–९ थुम्सीमा हुने आयोजकले जनाइएको छ ।
गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा जारी प्रतियोगिता गैडाकोट नगर खेलकुद बिकास समितिको ब्यबस्थापनमा भएको हो भने गैँडाकोट फुटबल क्लबले आयोजना गरेको हो ।





