single head

जयश्री फुड्स प्रा.लि. र जयश्री च्यारिटी नेपालको रक्तदान कार्यक्रममा १२७ जनाले गरे रक्तदान

single post top 1

वैशाख २९ ,गैँडाकोट । जयश्री फुड्स प्रा.लि. र जयश्री च्यारिटी नेपालको आयोजनामा भएको रक्तदान कार्यक्रममा १२७ जनाले रक्तदान गरेका छन् ।

single p1

बढ्दो रक्त अभाव पूर्ति एवं मानवीय सहयोगका लागि गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रा.लि. स्थापनाको १२ औँ वर्ष प्रवेशको अवसरमा शनिबार उद्योग प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ८ महिला र ११९ पुरुष सहित १२७ जनाले रक्तदान गरेको जयश्री फुड्स प्रालिका म्यानेजर अमित अग्रवालले जानकारी दिनुभयो । उहाँले पहिलो पटक नयाँ ४५ जनाले रक्तदान गरेको जानकारी दिनुभयो ।

single p2

रक्तदान कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले जयश्री फुड्सले निरन्तर रक्तदान कार्यक्रम गरी रक्तदान जस्तो मानवीय सहयोगमा गरेको योगदानको कदर गर्नुभएको थियो । उहाँले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्दै रक्तदानमा सरिक हुन योग्य रक्तदातालाई आह्वान समेत गर्नुभएको छ ।

 

जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जयश्री फुड्स तथा च्यारिटी नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । व्यापारसँगै सामाजिक सेवामा सदैव लाग्ने विश्वास दिलाउँदै उहाँले जयश्री फुड्सका उत्पादनलाई रोजाइमा राख्ने गृहणी एवं ग्राहकप्रति आभार व्यक्त गर्नुभएको छ ।

मधेसी अयोगका सदस्य विजय कुमार गुप्ताले बालशखा उद्योगी पवनकुमार अग्रवालले नवलपुर काठमाडौँ लगायतका ठाउँमा सामाजिक कार्यमा गरेको योगदान अतुलनिय रहेको बताउनुभयो ।

रक्तदाता मनिष अग्रवाललाई ब्लड ब्याग हस्तान्तरण गरी  उद्घाटन गरिएको कार्यक्रममा गैँडाकोट ९ का वडाअध्यक्ष धामनाथ सापकोटा ,नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति राजकुमार गुप्ता ले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

 

उद्योगका व्यवस्थापक प्रकाश घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, भरतपुर तालिम केन्द्रका प्रहरी नायब महानिरीक्षक सुरेन्द्रप्रसाद मैनाली, गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनार लगायत जनप्रतिनिधि, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । जयश्री फुड्सले पाँचौ पटक नेपाल रेडक्रस सोसाईटी, ब्लड बैंक र नवजागरण ग्रामिण विकास केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो ।

 

 

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3