गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका–१० मा अवस्थित श्री मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको २३औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशन मूल सम्पन्न भएको छ। साधारण सभाको अवसरमा वन समूहले ६८ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेको छ।
गैंडाकोट नगरपालिकाको नगर उपप्रमुख शान्ति कोइरालाले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीय उपभोक्ताको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले वन संरक्षण, जैविक विविधताको प्रवर्द्धन र उपभोक्ताको जीविकोपार्जनमा सामुदायिक वनले पुर्याएको योगदानको प्रशंसा गर्दै वनको दिगो व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
सबडिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले वनको संरक्षण गर्दै उपभोक्ताको आयआर्जन बढाउने र भावी पुस्ताका लागि प्राकृतिक स्रोत जोगाउने कार्यलाई निरन्तरता दिनुपर्छ।”
मुकुन्देसन सामुदायिक वन समूहका अध्यक्ष तुलसी गैरेले समूहले वन संरक्षण, उपभोक्ताको हित र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति भएकाले उहाँहरूको अनुभव, योगदान र सम्मानलाई कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो।
साधारण सभाको अवसरमा वन समूहले आफ्ना उपभोक्ता परिवारभित्रका ६८ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेको हो। ज्येष्ठ नागरिकले समाज र समुदायको विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको समूहले जनाएको छ।
त्यसैगरी, उपभोक्ताको जीविकोपार्जनमा सहयोग पुर्याउने तथा कृषि पेसालाई प्रोत्साहन गर्ने उद्देश्यले आलुको बीउ वितरण गरिएको थियो। वन संरक्षणसँगै उपभोक्ताको आयआर्जन वृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा गैँडाकोट नगरपालिका–१० का वडाध्यक्ष देवीदत्त कँडेल, संस्थापक अध्यक्ष चन्द्रदत्त जैसी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कमल पराजुली, वन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, जिल्ला समन्वय समिति सदस्य लीला पौडेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले सामुदायिक वनको दिगो व्यवस्थापन, वातावरण संरक्षण तथा ज्येष्ठ नागरिकको सम्मानका लागि समूहले गरेको प्रयासको प्रशंसा गर्नुभएको थियो।
सामुदायिक वनको संरक्षण र व्यवस्थापनसँगै उपभोक्ताको आर्थिक उन्नति, कृषि प्रवर्द्धन तथा सामाजिक सद्भावलाई समेत प्राथमिकता दिँदै मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहले आफ्ना गतिविधि अघि बढाउँदै आएको छ।










