गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. ११ ले धान काटेर झारिसकेपछि खेतमा बाँकी रहेको परालमा आगो नलगाउन स्थानीयवासीलाई आग्रह गरेको छ।
वडा कार्यालयले एक सूचना जारी गर्दै परालमा आगो लगाउँदा निस्कने धुवाँले ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने जनाएको छ। विशेषगरी धुवाँका कारण आँखामा पोल्ने तथा श्वासप्रश्वासमा समस्या उत्पन्न हुन सक्ने भएकाले परालमा आगो लगाउने कार्य नगर्न नगराउन वडाले अनुरोध गरेको हो।
वडा कार्यालयका अनुसार परालमा आगो लगाउँदा वातावरण प्रदूषण हुनुका साथै धुवाँले मानव स्वास्थ्यमा समेत असर पार्न सक्छ। त्यसैले पराल व्यवस्थापन गर्दा स्वास्थ्य र वातावरणलाई ध्यान दिन स्थानीयवासीलाई आग्रह गरिएको छ।
वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदीद्वारा हस्ताक्षरित सूचनामा जारी गरिएको आग्रहलाई अटेर गरी परालमा आगो लगाउने कार्य गरेमा कानुनबमोजिम कारबाही हुनेसमेत जानकारी गराइएको छ।
वडा कार्यालयले सबै स्थानीयवासीलाई सूचनाको पालना गर्दै वातावरण संरक्षण र जनस्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरेको छ।









