गैंडाकोट । हरिहर टोल विकास संस्था गैंडाकोट-७ को सातौँ साधारण सभा सम्पन्न भएको छ ।
हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम परिसरमा शनिबार कार्यक्रम गर्दै घरधुरी तथा जनसंख्याको आधारमा टोल विकास संस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले हरिहर टोल विकास संस्थाको कार्यक्षेत्र विभाजन गरिएको छ । कार्यक्रममा गैंडाकोट वडा नम्बर-७ का वडा अध्यक्ष होमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
विभाजन पश्चात सर्वसम्मत रूपमा लक्ष्मण ओझाको अध्यक्षतामा ११ सदस्यीय शीतलनगर टोल विकास संस्था गठन गरिएको छ । तेस्तै मीनप्रसाद सापकोटाको अध्यक्षतामा ११ सदस्यीय हरिहर टोल विकास संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन संयोजक तथा समाजसेवी नारायण पौडेलले जानकारी दिनुभयो ।
सभामा संस्थाकी कोषाध्यक्ष सपना सापकोटा शर्माले आय-व्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहसचिव देवीकला कंडेलले कार्यप्रगति तथा भावी योजनासहितको प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा हरिहर मन्दिरका सहसचिव भानु सापकोटा र पिसपार्क टोल विकास संस्थाकी अध्यक्ष नामकुमारी शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । हरिहर टोल विकास संस्थाका अध्यक्ष होमप्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।







