असोज २१,गैंडाकोट । स्थानीय समुदायको वित्तीय अवस्थाको सुधारमा सहजीकरण गर्दै आएको विकू सहकारीले समुदायसँग जोडिएका विभिन्न पक्षमा काम गर्दै आएको छ ।
विकूले कावासोती–४, हसौरामा चौतारी निर्माण गरि समुदायलाई हस्तान्तरण गरेको छ । चुलोदेखि चौतारोसम्म कार्यक्रम अन्तर्गत छिपछिपे टोल विकास संस्थाको क्षेत्रभित्र विकू चौतारी निर्माण गरिएको हो । निर्माण गरिएको चौतारी टोल विकास संस्थालाई हस्तान्तरण गरिएको छ ।
कावासोती वडा नं ४ का वडा अध्यक्ष नारायणप्रसाद लोहनीले विकू र वडाले आगामी दिनमा पनि सामाजिक कार्यमा सहकार्य र अन्तरक्रिया गर्दै अगाडी बढ्ने बताउनुभएको छ ।
विकूका अध्यक्ष प्रेमप्रसाद सापकोटाले विकूको वित्तीय अभियानमात्र नभइ स्वस्थ सदस्य निर्माणको पनि अभियान रहेको बताउनुभयो । विकूले सरसफाईका क्षेत्रमा पनि सचेतना, ग्रिनरी सहित सार्वजनिक सम्पदा संरक्षणको क्षेत्रमा पनि काम गर्दै आएको छ । विकूले यसै कार्यक्रम अन्तर्गत चौतारी संरक्षण गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
कार्यक्रममा विद्यालय, मठ–मन्दिर, वन समूह लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सरसफाइ सचेतना बढाउने उद्देश्यले डस्टबिन समेत वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कालिदाश गौडेलले राख्नु भएको थियो भने सहजिकरण संस्थाका गैर वित्तीय विभाग प्रमुख भोज बहादुर गुरौले गर्नु भएको थियो ।