जेठ ३, गैडाकोट (नबिन सुबेदी)। नवलपरासि पुर्व गैडाकोटमा आजदेखि सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता सुरू भएको छ ।
गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिकोे आयोजनामा शनिवार गैडाकोट नगरपालिका वडा नं ११ भेडावारि खेलमैदानमा भएको खेलमा ज्ञानकुञ्ज ईङ्गलिस स्कुल , सुर्योदय बिद्या मन्दिर र कालिका नमुना माविले जित निकालेका छन् ।
आज बिहान भएको पहिलो खेलमा ज्ञानकुञ्ज ईङ्गलिस स्कुलले गैडाकोट ईङ्गलिस स्कुललाई १–० गोलले हराएको छ । त्यस्तै बिहान भएको दोस्रो खेलमा सुर्योदय बिद्या मन्दिरले बालबिकास ईङ्गलिस बोर्डिङ स्कुललाई १–० गोल अन्तरले हराएको हो ।
त्यस्तै आजै भएको तेस्रो खेलमा कालिका नमुना माविले मुकुन्दसेन ईङ्गलिस स्कुललाई ७–० फराकिलो गोल अन्तरले हराएको छ । खेलको म्यान अफ द म्याच पुनम लामा हुनु भएको नगर खेलकुद विकास समितिका सदस्य एवं प्रतियोगिताको संयोजक डिलकुमारि घिमिरेले जानकारी दिनुभयो ।
यसै बिच भोली आईतवार पहिलो खेल बिजय सामुदायिक शिक्षा सदन र गैडाकोट नमुना माबि , दोस्रो खेल जनक नमुना माबि र बालज्योति आधारभुत बिद्यालय , तेस्रो खेल सरस्वती निकेतन र स्मल हार्ट एकेडमि ,चौथो खेल अक्सफोर्ड सेकेन्डरि स्कुल र रत्नराज्य लक्ष्मी माबि बीच प्रतिष्पर्धा हुने सुनगाभा युवा क्लबका कोषाध्यक्ष मनिलाल श्रेष्ठले बताउनु भयो ।

यस अघि सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उद्घघाटन गर्दै गैडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोईरालाले प्रतियोगिताले फुटबल खेलाडीको पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने र गैडाकोट नगरपालिकाले खेलकुद विकासका लागि निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा अझै धेरै कार्यक्रमको आयोजना गरिने बताउनु भयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले खेलकुद महिलाको आत्मविश्वास बढाउने माध्यम भएकोले छात्राहरुलाई खेलमा सहभागी गराउन यस्ता प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्यका साथै खेलकुदको माध्यमबाट पनि गैडाकोटलाई चिनाउनका लागि खेलकुदका बिभिन्न प्रतियोगिता भौगोलिक सामिप्यताले पनि जोड्ने उदेश्यले नगरका बिभिन्न वडाहरूमा प्रतियोगिताहरू सञ्चालन गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो ।
प्रतियोगिताको संयोजक डिलकुमारि घिमिरेले शिक्षा मात्र नभई खेलकुद पनि बालबालिकाको सर्वाङ्गिण विकासका लागि जरुरी रहेको र नगरपालिकाले पनि खेल क्षेत्रलाई विशेष महत्व दिनुपर्ने बताउनु भयो ।
प्रतियोगितामा उपाधि विजेताले नगद ५१ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने २ वटा टिमलाई नगद १७÷१७ हजार रुपैँया प्रदान गरिने छ । त्यस्तै बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर,बेष्ट डिफेन्स,बेष्ट प्लेयर, बेष्ट स्ट्राइकर ,सर्बाधिक गोल कर्ता र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा गैडाकोटमा रहेका सामुदायिक र संस्थागत गरि १९ वटा विद्यालयहरुले भाग लिएका छन । जेष्ठ ३ गते देखि ७ गतेसम्म संचालन हुने प्रतियोगितामा ४ लाख पचास हजार खर्च हुने अनुमान आयोजकको रहेको छ ।

गैडाकोट १० मा रहेको सुनगाभा युवा क्लब सह–आयोजक भएको प्रतियोगितामा सहभागि प्रत्येक खेलाडिलाई रु एक लाख बराबरको बिमा समेत गरिएको छ ।
उद्घघाटन कार्यक्रममा गैडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल , गैडाकोट वार्ड नं १४ को वडाध्यक्ष कोकीसरा राना मगर, वार्ड नं १० का वडाध्यक्ष देवीदत्त कँडेल , वार्ड नं ११ का कार्यबाहक वडाध्यक्ष गुरुप्रसाद पौडेल ,समाजसेवी व्यक्तित्व गजेन्द्र आलेमगर,,सुनगावा युवा क्लबका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, लगायतका बुद्धिजीवी तथा समाजसेवी व्यक्तित्व र खेलप्रेमी महानुभाबहरूको उपस्थिति रहेको थियो ।
उदघाटन कार्यक्रमको सहजिकरण गैडाकोट नगर खेलकुद विकास समितिका सदस्य सचिव रामप्रसाद अधिकारीले गर्नु भएको थियो ।
छैँठौ उपमेयरकम अन्तर विद्यालय छात्रा फुटवल प्रतियोगिताको उपाधी जनक नमूना माविले उचालेको थियो ।







