spot_img

Thursday, November 14, 2024

एनपिएलमा सहभागी टिमले अक्सनबाट खेलाडीहरूलाई आआफ्नो टिममा भित्र्याए

 असोज २१, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले  यसपालि फ्रेन्चाई क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना गर्दै छ ।

फ्रेन्चाई क्रिकेट लिगको एउटा प्रमुख विशेषता क्रिकेटर बोलकबोल (अक्सन) बाट आआफ्नो टिममा भित्र्याउने पनि हो । सोही प्रावधानमार्फत एनपिएलमा सहभागी आठ टिमले आइतबार खेलाडी अक्सनबाट खेलाडीहरूलाई आआफ्नो टिममा भित्र्याएका छन् । अब नेपालमा क्रिकेट पूर्णरूपमा व्यावसायिकीकरण हुँदै छ भन्ने एनपिएलको खेलाडी किनबेच (अक्सन) ले सङ्केत गरेको छ ।

  • -advertisement-
  • -advertisement-

लुम्बिनी लायन्सले तीन क्रिकेटरलाई अधिकतम रकममा आफ्नो टिममा आबद्ध गरेको छ । लुम्बिनीले स्पिनर सूर्य तामाङ, अलराउन्डरद्वय विवेक यादव र सन्दीप जोराका लागि अधिकतम १५ लाख रुपियाँ खर्च ग¥यो । यसै गरी अलराउन्डर गुलसन झा, आरिफ सेख, स्पिनर ललित राजवंशी, साहब आलम, सागर ढकाल, शीर्ष क्रमका ब्याट्सम्यान अनिल शाह, भीम सार्की, लोकेश बम र बलिङ अलराउन्डर प्रितिस जिसी पनि १५ लाख रुपियाँमा बिक्री हुनुभयो । लुम्बिनी लायन्सले सूर्य, विवेक र जोरालाई टिममा ल्याउन अधिकतम रकम खर्च गरेको हो ।

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किङ्सले लोकश र प्रतिशलाई सबभन्दा धेरै मूल्य खर्चेर आफ्नो टिममा ल्यायो । गुलसन अधिकतम रकममा कर्णालीमा पुग्नुभयो । साहब आलम र भीम सार्कीलाई काठमाडौँले विश्वास ग¥यो । ललित र अनिलले जनकपुरबाट अधिकतम रकम पाउनुभयो । पोखरा एभेन्जर्सले सागर र सुदूरपश्चिम रोयल्सले आरिफका लागि ठुलो रकम खर्च गरे ।

नेपाली राष्ट्रिय टिमका प्रारम्भिक ब्याट्सम्यान अनिललाई खरिद गर्न सबै आठ टिमले अधिकतम रकमको बोली लगाएका थिए । अन्ततः लक्की ड्रमार्फत अनिललाई टिममा ल्याउनमा जनकपुर भाग्यशाली साबित भएको हो । गुलसन र लोकेशका लागि पनि सात टिमले अधिकतम बोली लगाएका थिए ।  गोलाप्रथामार्फत लोकेश विराटनगर र गुलसन कर्णालीमा पुग्नुभयो । जनकपुरले लोकेश र लुम्बिनीले गुलसनमा बोली लगाएका थिएनन् । यसै गरी भीम, विवेक, सागर, साहब र ललितलाई पनि गोलाप्रथामार्फत नै अधिकतम रकममा बिक्री हुनुभएको हो ।

पहिलो चरणमा विनोद भण्डारी, रसिद  खान, कमलसिंह ऐरी, शरद भेषवाकर, अर्जुन साउद जस्ता खेलाडी बिक्री नहुनु आश्चर्यका रूपमा रह्यो । यद्यपि यी सबै खेलाडी दोस्रो चरणमा बिक्री भए । अक्सनबाट प्रत्येक टिमले दस खेलाडी खरिद गरेका हुन् । खेलाडी खरिदमा लुम्बिनीले सर्वाधिक ८४ लाख र चितवनले सबभन्दा कम ६३ लाख रुपियाँ खर्च गरे । सबै टिमलाई अधिकतम ९० लाख रुपियाँ खर्च गर्ने अधिकार दिइएको थियो ।

क्यानले दर्ताका भएका ४२६ बाट १४२ क्रिकेटरलाई अक्सनका लागि चयन गरेको हो ।  जसमध्ये ८० खेलाडी विभिन्न टिममा आबद्ध भएका हुन् र अक्सनमा ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी रहेका छन् । ग्रेड ‘ए’ मा रहेका क्रिकेटरलाई न्यूनतम दसदेखि अधिकतम १५ लाख रुपियाँ मूल्य तोकिएको थियो । यसै गरी ‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच र अधिकतम दस लाख तथा ‘सी’ ग्रेडका क्रिकेटरका लागि न्यूनतम दुई र अधिकतम पाँच लाख रुपियाँसम्म बोली लगाउन पाउने प्रावधान थियो । अब यी टिमहरूले चार विदेशी खेलाडीका साथै एक थप खेलाडी प्रतिभा खोजमार्फत आआफ्नो टिममा भित्र्याउने छन् । एनपिएलको पहिलो संस्करण आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार