भदौ ६ काठमाडौँ । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज (बिहीबार) घरेलु टोली नेपाल बंगलादेशसँगै भिड्दैछ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। यो खेल जित्ने टिम समूह विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन्। समूह ए मा लगातार दोस्रो हारसहित श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन्।
समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ। समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ। समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमिफाइनल खेल्न चाहन्छ।
यस्तै श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै हराउने योजनामा छ । समूह बी बाट भने भारत, भुटान र मालदिभ्स तिनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना छ।