spot_img

Wednesday, July 29, 2026

सञ्चार माध्यमले भदौ ८ गतेभित्र विज्ञापनको दररेट विज्ञापन बोर्डमा पेश गर्नुपर्ने- विज्ञापन बोर्ड अध्यक्ष लक्ष्मण हुमागाई

Article Inline top 1

भदौ २, काठमाडौँ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बजारलाई पारदर्शी र व्यवस्थित बनाउने प्रक्रिया सुरु भएकाले सञ्चार माध्यमले भदौ ८ गतेभित्र विज्ञापनको दररेट विज्ञापन बोर्डमा पेश गर्नुपर्ने बताउनु भएको छ ।

गोरखापत्र संस्थानले चालू आर्थिक वर्षमा सुरु गरेको ‘गोरखापत्र : गर्दै–सिक्दै’ अभियानको दोस्रो शृङ्खलामा  ‘विज्ञापन प्रणाली र गोरखापत्र’ विषयक सेमिनारमा प्रशिक्षण दिनुहुँदै अध्यक्ष हुमागाईले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

Article Inline 2

बोर्डले साउन ११ गते यससम्बन्धी दररेट पेश गर्न सूचना प्रकाशन गरिसकेको छ । सञ्चार माध्यमले पेश गरेका विज्ञापनका दर रेटलाई सार्वजनिक गरिने भएको छ ।

बोर्डको कार्यक्षेत्रमा आमसञ्‍चार माध्यममा हुने विज्ञापन, बाह्य विज्ञापन, सामाजिक सञ्‍जाल तथा डिजिटल माध्यममा हुने विज्ञापन, चलचित्र गृह, नाट्यशाला तथा अन्य कार्यक्रममा हुने विज्ञापन पर्दछन् ।

अध्यक्ष हुमागाईले अहिलेको विज्ञापन बजारमा पारदर्शिताको अभाव, सञ्‍चार माध्यमको  वर्गीकरण र स्तरीकरण, विज्ञापनको दर, विज्ञापन एजेन्सीको कारोबार र विज्ञापन चक्रमा सहभागी सबैको एक अर्काप्रतिको विश्‍वासजस्ता विषय मुख्य समस्या र चुनौती रहेको बताउनुभयो ।

उहाँले भुक्तानी र पारदर्शिता सम्बन्धी व्यवस्थामा सञ्‍चार माध्यमले जारी गरेको बिलको आधारमा सरकारी निकायले विज्ञापनको रकम भुक्तानी गर्नुपर्ने बताउनुभो ।

एजेन्सीमार्फत विज्ञापन प्रकाशन तथा प्रसारण भएको अवस्थामा सञ्‍चार माध्यमको बिलको प्रतिलिपिसहित एजेन्सीको सेवा शुल्क खुल्ने गरी जारी गरेको विलको आधारमा भुक्तानी गर्नुपर्ने र भुक्तानी गर्दा बोर्डमा पेश गरेको दररेटको आधारमा मात्र गर्न पाउने व्यवस्था छ ।

अन्य व्यवस्थामा ऐन तथा नियमावली विपरीत कारोबार गर्ने विज्ञापन एजेन्सी वा सञ्‍चार माध्यमको कारोबार निश्‍चित अवधिका लागि रोक्का राख्‍न सक्ने, विदेशी कार्यक्रम वा संघ संस्थासँग प्रसारणको स्वीकृति लिई नेपाली विज्ञापन प्रसारण गर्ने भएमा बोर्डबाट अनुमति लिनु पर्ने, सरकरी विज्ञापन भुक्तानीमा तीन प्रतिशत रकम विज्ञापन कोषमा प्राप्त हुने जानकारी अध्यक्ष हुमागाईले दिनुभयो ।

उहाँले एउटाले कमाउने र अरुले खाने कुरा राम्रो हुँदैन भन्दै गोरखापत्र, दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना र गोरखापत्र अनलाइन प्रकाशनलाई आत्मनिर्भर बनाउन संस्थान व्यवस्थापनलाई सुझाव दिनुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानको बाँच्ने र टिक्ने मुख्य आधार नै विज्ञापन भएकाे बताउनुहुँदै पहुँच र गुणस्तरमा सुधार गरेपछि विज्ञापन प्राप्त गर्ने क्रम बढेको बताउनुभयो । यस्ता सिकाइले गोरखापत्रको व्यापार  प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले प्रविधिको क्षेत्रमा आएको द्रुत परिवर्तनले मिडियालाई अवसर र चुनौती दुवै थपिएको बताउनुभयो ।

महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र आफ्नै आम्दानीमा चलेको बताउनुभयो । उहाँले विज्ञापन नै मिडियाको जीवन हो र विज्ञापन चक्रमा परिवर्तन आइरहेकाले गोरखापत्रसँग त्यही अनुसार अगाडि बढ्नुको विकल्प नभएको प्रष्ट पार्नुभयो । विभिन्न विषयका विज्ञहरू बोलाएर ज्ञान आर्जन गर्ने क्रममा गोरखापत्रले सुरु गरेको ‘गर्दै–सिक्दै’ कार्यक्रमले धेरै कुरा सिकाउने र संस्थालाई जीवन्त राख्न सहयोग पु्ग्ने विश्वास उहाँकाे छ ।

यसैगरी, संस्थानका निमित्त नायब महाप्रबन्धक यमप्रसाद कँडेलले ऐन, कानुनले गरेका व्यवस्था एउटा छ, गोरखापत्र संस्थान सरकारी संरचना पनि हो, राज्यका हरेक अङ्ग र निकाय सहयोगी हुनुपर्नेमा जोड दिनुभयो । गोरखापत्र आफैंले कमाएर खाने संस्था हो, यसको १२४ वर्षको ऐतिहासिक विरासतलाई समेत हेरेर छुट्टै अस्तित्वमा रहेको संस्थाको रुपमा लिइदिन विज्ञापन बोर्डसँग आग्रह गर्नुभयो ।

नेपालको विज्ञापन प्रणाली/बजार सुधारसहित मिडिया क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै विज्ञापन बोर्डका अध्यक्ष हुमागाईलाई संस्थानका कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीलगायतले प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँलाई मायाको चिनोका रुपमा गोरखापत्रको पहिलो अङ्कको प्रतिकृति, तस्बिरहरूको सङ्ग्रह र गोरखापत्रको शैली पुस्तिका प्रदान गर्नुभयो ।

कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, अर्थ विभाग प्रमुख तथा सञ्चालक समितिका सदस्य राजुकुमार महतलगायत विभागीय प्रमुख तथा शाखा प्रमुखको सहभागिता थियो । गोरखापत्र 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :