माघ २२,काठमाण्डौ । संसद्को हिउँदे अधिवेशन सोमवारदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सोमवारबाट अधिवेशन सुरु हुन लागेको हो ।
दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । सोमवारको बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानको जानकारीको पत्र पढेर सुनाउने, अध्यक्षमण्डलको मनोनयन हुनेलगायतका सम्भावित कार्यसूची छ । अधिवेशन नभएको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश दुवै सदनमा पेस हुने छ ।
सङ्घीय संसद्को कार्यवाहक महासचिव तोकिएको विषयमा जानकारी दिइनुका साथै संसदमा सहभागी दलका नेताले सम्वोधन गर्ने कार्यसूची पनि तय गरिएको छ । यो अधिवेशनमा विधायिकी कार्यतालिका व्यवस्थित गर्न खोजिएको छ । त्यसका लागि हरेक १५ दिनको कार्ययोजना बनाएर अघि बढिने सभामुख देवराज घिमिरेले जानकारी दिए । संसदमा अहिले विभिन्न चरणमा २४ विधेयक विचाराधीन छन् ।